nepal telicom

कोशी सरकार गठनले धुम्बाराही र बालुवाटारमा भूकम्प

माओवादीबाट मुख्यमन्त्रीका दावेदार आङ्बोलाई किर्ते गरेको कारबाही गर्न कांग्रेस सांसदको माग

काठमाडौं । सत्ता गठबन्धनको निर्णय विपरीत कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेपाली कांग्रेसका सांसद केदार कार्कीसहितका आठ सांसदहरूले प्रदेश प्रमुख परशुराम खापुङका सामु आफ्नो हस्ताक्षर सनाखत गरेका छन् । त्यस्तै कांग्रेस संसदीय दलको उपनेताबाट राजीनामा दिएका सांसद हिमाल कार्कीले पनि केदार कार्कीलाई समर्थन गरेका छन् । यससँगै केदारका पक्षमा कांग्रेसका ९ जना उभिएका छन् ।

आफूहरुको हस्ताक्षर लिएर माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो पनि पुगेपछि कांग्रेसका ८ सांसदले आफ्नो हस्ताक्षर सनाखत गराएका हुन् ।

मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीले आफूहरू सशरीर उपस्थित भएर आफ्नो हस्ताक्षर सनाखत गरेकाले अन्य कुनै सदस्यले पेस गरेको दाबी झुटो भएकाले खारेज गर्न मागसमेत गरेका छन् । आफूहरूले आङ्बोको समर्थनमा हस्ताक्षर नगरेको बताउँदै उनले उक्त दाबीलाई खारेज गर्न निवेदनसमेत दिएका छन् ।

कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ८ जनाले कार्कीको पक्षमा हस्ताक्षर गरेका छन् । उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङले केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन् ।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । उक्त निर्णयको शेखर पक्षले विरोध जनाउँदै आएको छ । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख खापुङ्गले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका छन्।

adb bank long