एजेन्सी । गत शनिबार इजरायलमाथि आतंकवादी हमला भयो। गाजा पट्टीबाट मुस्लिम अतिवादी समूह हमासले समुद्र, जमिन र आकाशबाट एकैसाथ गरेको आक्रमणमा परी अहिलेसम्म १२ सय बढी इजरायलीको मृत्यु भएको छ।
हमासका लडाकुहरू गाजा क्षेत्र नजिकैको कृषि फार्ममा गएका १० जना नेपाली विद्यार्थीको पनि हत्या गरेका छन्।
संसारभरि नै चर्चित रहेको इजरायली गुप्तचर निकायले हमासको यति ठूलो आक्रमणबारे पहिला नै किन सुइँको किन पाएन भन्ने प्रश्न उब्जिएको छ।
यस विषयमा अनुसन्धान हुँदै जानेछ। तत्कालका लागि इजरायलले हमासविरूद्ध युद्ध छेडेको छ। इजरायलको कारबाहीमा परी गाजामा हमास लडाकु र सर्वसाधारण गरी ९ सय बढीको ज्यान गएको छ।
समाचार संस्था रोयटर्सका अनुसार हमासले गत शनिबारको आक्रमणका लागि निकै लामो तयारी गरेको थियो। र यो आक्रमणको मास्टरमाइन्ड थिए( मोहम्मेद डाइफ।
हमास स्रोतका अनुसार आक्रमणको योजना डाइफ र हमासका नेता येह्या सिनवारले बनाएका थिए। तर यसको सबै आर्किटेक्ट डाइफ नै हुन्।
‘आक्रमणका लागि दुई दिमागले काम गरेका थिए तर मास्टरमाइन्ड एउटा थियो,’ हमास स्रोतले भनेको छ,‘यो आक्रमणको योजनाबारे हमासका निकै कम नेतालाई मात्र थाहा थियो।’
हमासलाई आर्थिक सहायता दिने, तालिम र हतियार उपलब्ध गराउने इरानको नेतृत्वलाई पनि कुन दिन इजरायलमाथि आक्रमण हुन्छ भन्ने पत्तो थिएन।
इरानका नेताहरूले हमासले इजरायलमाथि ठूलो आक्रमण गर्दैछ भन्ने थाहा भए समयबारे जानकारी नपाएको रोयटर्सले उल्लेख गरेको छ।
शनिबार डाइफले हमासका सञ्चारमाध्यममा सम्बोधन गरेका थिए। उनले अल अक्सा मस्जिदमा इजरायलले गरेको अत्याचारको विरोधमा प्यालेस्टाइनीको आक्रोश बिस्फोट भएको बताएका थिए।
इजरायली सुरक्षा स्रोतले पनि शनिबारको आक्रमणमा मुख्य भूमिका हमासको अल कसाम ब्रिगेडका कमाण्डरसमेत रहेका उनै डाइफको रहेको बताएका छन्।
सन् १९६५ मा खान युनिस शरणार्थी शिविरमा जन्मिएका उनको सुरूको नाम मोहम्मद मास्री थियो। हमासमा जोडिएपछि उनले नाम परिवर्तन गरेर मोहम्मेद डाइफ राखेका हुन्।
सन् १९८९ मा डाइफलाई इजरायलले पक्राउ गरेको थियो। १६ महिनासम्म उनलाई हिरासतमा राखिएको थियो।
युनिभर्सिटी अफ गाजाबाट उनले विज्ञानमा स्नाकोत्तर गरेका छन्। त्यहाँ उनले भौतिक शास्त्र, रसायन शास्त्र र जीव विज्ञान अध्ययन गरेका थिए।
हमासमा प्रभाव बढ्दै गएपछि उनले गाजामा टनेलको नेटवर्क र बम बनाउने क्षमताको विज्ञता बढाएका थिए।
इजरायलमाथि भएका विभिन्न समयका धेरै आत्मघाती बम बिस्फोटमा उनले काम गरेका थिए। दशकौंसम्म उनी इजरायलको मोस्ट वान्टेड सूचीको पहिलो नम्बर थिए।
इजरायलले उनको हत्या गर्न गरेको आक्रमणमा परेका उनले एक आँखा गुमाएका छन् भने एउटा खुट्टामा पनि गम्भीर चोट लागेको छ।
उनकी श्रीमती, ३ वर्षकी छोरी र ७ महिनाका छोराको सन् २०१४ मा इजरायलले गरेको हवाई आक्रमणमा मृत्यु भएको थियो।
हमास स्रोतका अनुसार डाइफ स्मार्ट फोनलगायत पछिल्लो समय प्रचलित प्राविधिक कुराहरू प्रयोग गर्दैनन्।
डाइफका अहिलेसम्म तीन वटा तस्बिरमात्र सार्वजनिक छन्। एउटा उनी २०(३० वर्षको हुँदाको हो। अर्को फोटोमा उनले मास्क लगाएका छन्। तेस्रो फोटो उनको छायाको मात्र खिचिएको छ। जुन फोटो उनले सार्वजनिक गर्ने अडिओहरूमा प्रयोग गरिएको हुन्छ।
सन् २०२१ मा पनि इजरायलले उनलाई मार्न कारबाही चलाएको थियो। तर उनी बाँच्न सफल भए।
उनले अडिओहरू बिरलै सार्वजनिक गर्छन् र सार्वजनिक रूपमा देखा नै पर्दैनन्।
उनी अहिले कहाँ बस्छन् भन्ने ठ्याक्कै थाहा छैन। उनी गाजामा टनेलभित्र बस्ने गरेको हुन सक्ने अनुमान गरिन्छ।