काठमाडौ । साल्ट ट्रेडिङले चाडपर्वलक्षित गरी भन्सार सहुलियतमा २० हजार टन चिनी आयात गर्न गत असारमा सरकारसँग अनुमति मागेको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृतिका लागि साउन ४ गते अर्थ मन्त्रालयमा पठाए पनि अर्थले भदौ २९ मा मात्रै ५० प्रतिशत भन्सार छुटमा चिनी आयातको अनुमति दिएको थियो । अनुमतिमा भएको ढिलाइकै कारण समयमै आयात गर्न नसक्दा चिनी अभाव भएको साल्ट ट्रेडिङको भनाइ छ ।
कम्पनीले हाल मौज्दात रहेको चार सय टन चिनी उपभोक्तालाई दुई किलोका दरले बिक्री गर्दै आएको छ । चिनी अभाव भएपछि सरकारले उद्योगीसँग पाँच सय टन चिनी पैंचो मागे पनि पाउन सकेको छैन ।