तीनवटै सुरक्षा निकायको नेतृत्व निमित्तको जिम्मामा

काठमाडौ । देशमा महत्त्वपूर्ण मानिने दसैँ, तिहार, छठ लगायतका चाडपर्वहरू नजिकिएका बेला र देशमा धार्मिक दंगा भड्किन सक्ने खतराबारे सुरक्षा निकायकै विश्लेषण भैरहदा सुरक्षा निकायका तीनै निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व निमित्तको भरमा चलेको छ । यी तीनै निकायका प्रमुखहरू देशबाहिर गएका कारण निमित्तका भरमा चल्नु परेको हो । यश मध्ये नेपाल प्रहरीको नेतृत्व निमित्तको पनि निमित्तमा चल्न पुगेको छ ।

नेपालका तीनवटै सुरक्षा निकायका प्रमुख एकसाथ देशबाहिर गएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख हाल देश बाहिर छन्।

नेपाली सेनाका प्रधानसेनापति आइतबार बेलायत प्रस्थान गरेका हुन्। उनी बेलायतबाट २७ गतेमात्रै फर्किने कार्यक्रम छ।

प्रधानसेनापति शर्मा दुई दिनअघि बेलायतका चिफ अफ द जनरल स्टाफ प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा औपचारिक भ्रमणका लागि त्यहाँ पुगेका हुन्।

यस्तै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि अहिले विदेशमै छन्। गत शनिबार आईजीपी कुँवर बेलायत प्रस्थान गरेका हुन्।

बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने सुरक्षा र न्याय सुदृढिकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन्।

कुँवरले एआईजी टेकप्रसाद राईलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएका थिए। तर निमित्त प्रहरी प्रमुख टेकप्रसाद राई पनि मंगलबार अमेरिका प्रस्थान गरेका छन्। अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्स विषयक कार्यक्रममा सहभागी हुन राई नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो।

यस्तै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि अमेरिका प्रस्थान गरेका छन्।

अर्याल पनि अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म संचालन हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्स विषयक कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रोटोन एजुकेसन
adb bank long