काठमाडौं । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।
यस पटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेस चार, नेकपा (माओवादी केन्द्र) दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीको एक सिटमा दाबी रहेको विषय सार्वजनिक भएको छ ।
अघिल्लो सङ्घीय संसद्मा प्रतिनिधिसभा मातहतका १०, राष्ट्रियसभाका चार र संयुक्त समितिका रूपमा रहेका दुई गरी १६ विषयगत समितिमध्ये नौको नेतृत्व महिलाले गरेका थिए ।
प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति रहेका छन् ।
पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिले पनि सोमबार नयाँ नेतृत्व प्राप्त गर्ने छ ।