काठमाडौ । एकजना कार्यालय सहयोगी अर्थात चलनचल्तीको भाषामा पियन पदमा कार्यरत कर्मचारीको कमाई कति होला ? सहजै अनुमान गर्न सकिन्छ तर मालपोत कार्यालयमा कार्यरत एक पियनको कमाई सुन्दा आश्चर्य हुनसक्छ । मालपोतमा कार्यरत ती कर्मचारी एक उदाहरण बनेका छन्, जो एकजना कार्यालय सहयोगी।
ती मालपोत चाबहिलका एक जना कार्यालय सहयोगीले झन्डै ९ करोड अकुत सम्पत्ति कमाएका छन्। ती कार्यालय सहयोगी हुन्, राजेन्द्र बस्नेत। उनीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ।
बस्नेतले ३० वर्षे जागिर जीवनमा ८ करोड ९८ लाख ५८ हजार सम्पत्ति आर्जन गरेको अख्तियारको भनाइ छ। २०४५ कात्तिक १९ गते मालपोत विभाग काठमाडौंमा कार्यालय सहयोगी पदबाट स्थायी नियुक्ति पाएका थिए। बस्नेतले श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेतको नाममा पनि अकुत सम्पत्ति लुकाएर राखेका थिए।
भतिजा कृपा बस्नेतको नाम एक करोड लुकाइएको पाइएको छ। यस्तै, श्रीमती सीताको नाममा ६ करोड ७५ लाखको घरजग्गा खरिद गरेको देखिएको छ। उनले विभिन्न स्थानमा घरजग्गा खरिद गरेका थिए। उनको आफ्नै सवारीसाधन पनि भएको अनुसन्धानबाट देखिएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिएको देखिएको छ।
पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको भन्ने उजुरीपछि अख्तियारले उनीविरुद्ध अनुसन्धान गरेको थियो। बस्नेतको मुद्दा विचाराधीन छ।