हर्कको नगरमा मध्यरातमा किन लगाइयो निषेधाज्ञा ?

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राति १२ बजेदेखि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

सुरक्षा निकायसँग समन्वय गरेबाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक तथा राजनीतिक भेला प्रदर्शन नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

धार्मिक, साम्प्रदायिकका साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै संक्रामक रोग ऐन तथा स्थानीय प्रशासन ऐनबमोजिम शुक्रबार मध्यरातिदेखि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

यसैबीच, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आपसी सद्भाव, भाइचारा र एकता कायम गर्नका लागि नगरवासीमा अपिल गरेका छन् ।

यसैगरी, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, संघीय लिम्बुवान राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी नेपाल, किरात खम्बुवान र विवेकशील साझा पार्टीका स्थानीय नेताले संयुक्त विज्ञप्ति जारी गरी सामाजिक र धार्मिक सद्भाव कायम राख्न आह्वान गरेका छन् ।

adb bank long