काठमाडौ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा जातीय नारा उचालेर प्रचण्ड र माधव नेपालले उत्पात मच्चाएको टिप्पणी गरेका छन् ।
आज बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनमा उनले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कहिले प्रदेश नामकरण त कहिले जातीय विद्वेष फैलाउने काम गरिरहेको आरोप लगाए ।
त्यसबारे उनको भनाइ जस्ताका तस्तैः
अहिले यस्तो भ्रष्टाचारको काण्डहरु भइरहेका छन् त्यस्तो काण्डहरुलाई छोप्न सजिलो छ एमालेले गर्यो भनेर । राम्रो काम केही गरेन नराम्रो मात्रै गर्यो । अब कसैकसैले छाप्न सक्छ केपी ओलीलाई हत्कडी लायो जेल भयो भनेर । कसैले मलाई गोली हान्नसक्छ आपत्ति छैन, तर मलाई पञ्चायकालमा जस्तै गरेर हुँदै नभएको कुरामा १० वर्ष कैद गर्ने १० वर्ष भुक्तान भइसकेपछि ४ वर्ष यसै थुन्यो । अहिले पनि त्यस्तै गर्ने हो भने त बेग्लै कुरा हो ।
झुटैमा जाने हो भने कानूनले केपी ओलीलाई हत्कडी लगाउनसक्ने कुनै ठाउँ राख्दै राख्दैन । राखेकै छैन । केपी ओली ढुक्कले भन्छ । मलाई थाहा छ विरोधीहरु छन् तिनीहरुले सत्यका विरुद्ध काम गर्छन् । तिनीहरु हाम्रा विरुद्ध आइलाग्न सक्छन् । म सचेत छु कानूनी रुपमा पनि कतै एक शब्द नचिप्लियोस् ।
मेरा काम कारबाहीहरु म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा गृहमन्त्री हुँदा मेरा काम कारवाहीहरु एक शव्द नचिप्लियोस् भनेर मैले कानून पल्टाइ पल्टाइ फैसला गरेको छु । निर्णय गरेको छु । त्यसका कसैको इच्छाले केपी ओलीलाई फसाउन सक्दैन । माकुराको जालोमा भैसी पर्दैन भन्ने यीनिहरुले बुझ्नुपर्छ ।
यिनीहरु केपी ओलीलाई पार्न माकुराको जाला पार्दै हिँड्छन् । केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न सिंगले थाहा पाउँछ न जिउँले थाहा पाउँछ। केपी ओली आफ्नो देश बनाउने अभियानमा अगाडि बढेको छ ।