काठमाडौ । सुन तस्कर दावा छिरिङसँग कनेक्सन देखिएका अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिएका छन् । ६० किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक अधिकारीको विच्याटमा कुराकानी भएको र त्यस कुराकानीमा विभिन्न डिलहरु भएको तथ्यहरु फेला परेको खबर बाहिरिएपछि उनलाई गृह मन्त्रालयले मन्त्रालय तानिएका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको सुनको अनुसन्धानमा तस्करीका नाइके दावा छिरिङ र गृह मन्त्रालयको सबैभन्दा महत्वपूर्ण र संवेदनशील मानिने अध्यागमन विभागका महानिर्देशक अधिकारीबीच सुन तस्करीको पूर्वसूचना आदान–प्रदान र रकम लेनदेनमा व्यापक कुराकानी र संवाद भएको प्रमाण फेला परेको हो । अधिकारी र दावाबीचको संवाद हेर्दा सुन तस्करी योजनाबद्ध रुपमा नै भएको देखिएको छ । अधिकारीको संलग्नतासँगै यसको सिधा कनेक्सन गृह मन्त्रालयसम्मै रहेको हुन सक्ने स्रोतको दाबी छ ।
सीआईबीले फेला पारेको तथ्यअनुसार महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदानप्रदानको कुराकानी मात्रै भएको छैन, ठूलो बिजनेस सञ्चालन गर्ने त्यसो गर्दा ठूलो रकम आउने कुरासमेत भएको देखिन्छ । सुन तस्करीको छानबिन गर्ने क्रममा ती मेसिनहरु बरामद भएको थियो ।
दावाले विभिन्न सन्दर्भमा अधिकारीलाई बधाईसमेत दिएका छन् । अधिकारी र दावाको विच्याटमा दुवै जनाका लागि राम्रो बिजनेस भएको र ठूलो परिमाणमा नगद कारोबारको कुराकानी भएको प्रमाण सीआईबीले फेला पारेको स्रोतको दाबी छ ।
तस्कर समूहले आयात गर्ने तस्करीको सुनको विवरण अध्यागमन विभागका महानिर्देशकमार्फत गृह मन्त्रालय र सुरक्षा निकायलाई पुग्ने गरेको सीआईबीका अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ ।
‘हाल गृह मन्त्रालय मातहतको अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सह–सचिव झलकराम अधिकारी र दावाबीच लामो कुराकानी हुने गरेको र ती सबै विमानस्थलबाट सुन पास गराउने र रकम लेनदेनसँग सम्बन्धित देखिएको छ,’ सीआईबी स्रोतले भन्यो– ‘कुन वस्तुभित्र राखेर सुन ल्याइँदै छ भन्ने जानकारी दावा छिरिङले अधिकारीलाई पहिल्यै पठाउँथे ।’ सीआईबी स्रोतले विभागमा महानिर्देशक र तस्कर दावाबीच गहिरो सम्बन्ध रहेको पाइएको जनाएको छ ।
दावाको प्रस्तावमा सहमति जनाएर अधिकारीले ‘ओके’ भन्ने जवाफ फर्काएका छन् । त्यसको तेस्रो दिन अधिकारीलाई दावाले ‘राम्रो काम भएकोमा धन्यवाद भन्दै राम्रो पैसा उपलब्ध गराएको’ उल्लेख गरेका छन् । जवाफमा अधिकारीले ‘फेरि–फेरि यस्तै कार्य भइरहने’ वचन दिएका छन् । अधिकारी यसअघि राजस्व अनुसन्धान विभागको महानिर्देशकसमेत थिए । त्यतिखेर पनि उनको कनेक्सन दवासँग नै हुने गरेको स्रोतको दाबी छ ।
अनुसन्धान अधिकारीहरुका अनुसार महानिर्देशक अधिकारी र दावाबीच २०७८ असार ७ देखि यता निरन्तर संवाद हुने गरेको देखिएको छ । ५ साउन २०७९ देखिका संवादमा भने राम्रो काम भएको भन्दै रकम लेनदेनका कुराकानी छन् । अधिकारी यसअघि अधिकृत हुँदा त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय र ठूला करदाता कार्यालयमा समेत कार्यरत रहेका थिए । उनलाई गत फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा विभागको महानिर्देशक बनाएका थिए । गृहस्रोतका अनुसार अधिकारीको गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि निकट सम्बन्ध छ ।