दक्षिणको संकेतले बालुवाटारमा नयाँ तरंग

काठमाण्डौ । पछिल्ला राजनैतिक घटनाक्रमहरुले नेपालको राजनीति परिवर्तन हुने संकेत देखिएको छ । केहीदिन अघि सत्तारुढ दलको मुख्य घटक नेपाली कांग्रेसको सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकमा आश्चर्यजनक ढंगले संस्थापन पक्षको विरोध नगरी मौन बसेका नेता शेखर कोइरालाले भने पछिल्लो पटक आन्तरिक चलखेल  बढाएका छन् । संस्थापन इतरपक्षका खासगरी कोइराला र गगन थापाबीच मनभिन्नता भएको समाचार आइरहेको बखत इतरपक्ष एकभएको देखाउन केहीदिन अगाडी कोइराला र थापा एक होटलमा बसेर एकताको संदेश दिएका छन् । उक्त भेटमा कोइराला र थापाबीच इतर पक्षलाई एकताबद्ध बनाएर अगाडी लैजाने र सहकार्यलाई अझ प्रभावकारी बनाउने सहमति भएको स्रोतको दावी छ ।

उनीहरुबीच प्रचण्ड सरकारलाई ढलाएर नयाँ सत्ता समिकरणका सन्दर्भमा गम्भीर वार्ता भएको पनि बताइन्छ । साथै आगामी सरकारमा कांग्रेसको नेतृत्व र महाधिवेशनबाट बन्ने नेतृत्वका विषयमा सहकार्य कसरी गर्ने भन्ने छलफल पनि उनिहरूबिच चलेको छ । कोइराला निकट एक नेताका अनुसार संसदीय दलको नेता परिवर्तन गरेर कोइरालालाई दलको नेता बनाउने र थापालाई कांग्रेसको नेतृत्वमा स्थापित गर्नेगरी छलफल अघि बढेको छ । संसदीय दलको नेता परिवर्तन गरेर कोइरालालाई नेता बनाई आगामी प्रधानमन्त्रीकारुपमा अघि सार्ने विषयमा थापा निकट केही नेताहरुले सहमति जनाइसकेका छैनन् । उनीहरुले कोइरालालाई भावी पार्टी सभापति र थापालाई भावी प्रधानमन्त्रीकै रुपमा अघि सार्नुपर्ने तर्क गरिरहेका छन्  । उनीहरुको तर्क छ – थापाले संसदीय दलको नेतामा एकपटक प्रतिश्पर्धा गरिसकेको हुँनाले र अहिलेको माहौल युवाप्रति भएको कारणले थापालाई नै अघि सार्दा राम्रो हुन्छ ।

तर, पछिल्लो पटक कोइरालाले संसदीय दलको नेता हुनेगरी आफ्नो भूमिकालाई अघि बढाइरहेको देखिन्छ । केन्द्रीय समितिको बैठकमा इतरपक्ष रक्षात्मक बन्दै प्रस्तुत भएको विषयलाई कोइरालासँग जोडेर हेरिएको थियो । बैठकमा कोइरालाको मौनतालाई कतिपयले पार्टी सभापति शेरबहादुर देउवाको उत्तराधिकारीको रुपमा हेरेको चर्चा भएको थियो भने कतिपयले देउवाले कोइरालालाई वरिष्ठ नेता बनाउँदै छन् भनेर चर्चा गरेका थिए । तर बैठक सकिँदा यि दुवै विषय खण्डित हुन पुग्यो । त्यसबेला बैठकमा परिपक्व ढंगले प्रस्तुत हुँदै भावी प्रधानमन्त्रीको लाइनमा रहन भारतीय संस्थापन पक्षले सुझाएको चर्चा पनि अहिले सुन्न पाइन्छ ।

स्रोतका अनुसार प्रचण्ड सरकारबाट सन्तुष्ट नरहेको भारतीय संस्थापन पक्षले भावी प्रधानमन्त्रीकारुपमा कोइरालालाई ग्रीनसिग्नल दिइसकेको छ । यही ग्रीनसिग्नल अनुसार कोइरालाले चलखेल गर्न थालेको कुरा देउवा निबास धुम्बाराहीदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म पुगेपछि धुम्बाराही र बालुवाटारमा नयाँ तरंग पैदा भएको छ । यसको पराकम्पनका कारण देउवाको दवावमा सत्ता टिकाउनकालागि प्रधानमन्त्री प्रचण्डले ललिता निबास प्रकरण र गौर हत्याकाण्ड छानविनबाट व्याक भएका छन् भने देउवाकै दवावमा प्रहरी अधिकारीहरुको अनियमित सरुवा समेत गरेका छन् । उता पार्टीउपसभापति समेत रहेका उप प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसका मन्त्रीहरुलाई बोलाएर सत्ता टिकाउन एकजुट हुनुपर्ने विषयमा छलफल गरेका छन् । यि सबै कुराले नेपालको राजनीतिमा नयाँ सत्तासमिकरणकोलागि खिचडी पाकिरहेको अनुमान गर्नसकिन्छ ।

adb bank long