काठमाडौं । नेकपा एकीकृत समाजबादीको जारी केन्द्रीय समितिको बैठकको पहिलो दिन मंगलबार अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बीच दस्तावेजलाई लिएर जुहारी चलेको छ । अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत दर्ज गरेका छन् ।
अध्यक्ष नेपालले आफूहरुले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेको दाबी गर्दै प्रतिवेदन प्रस्तुत गरेका थिए ।
तर, नेता खनालले आफूहरुले एमालेबाट विद्रोह गर्नुको औचित्यसमेत पुष्टि गर्न नसकेको कारणले नेता कार्यकर्ता पलायन भएको दाबी गरे ।नेता खनालले अध्यक्षको प्रतिवेदनमाथि प्रश्न उठाउँदै छलफलका लागि पर्याप्त समयको माग गर्दै आज डेढ घण्टा बोलेको बैठकमा सहभागी एक नेताले बताए ।
अध्यक्ष नेपालले प्रतिवेदनमा राखेको एमालेभन्दा आफूहरु फरक भएको ७ बुँदे धारणासमेत स्वीकार्न खनाल तयार भएनन् । त्यसो त साउन १९ गते बसेको स्थायी कमिटीको बैठकमा पनि उनले १६ पन्ने फरक मत राखेका थिए ।
खनालले नेतृत्वको आलोचना गर्दै एमालेभन्दा फरक देखाउन नसकेको आरोप लगाएका थिए । कांग्रेस र माओवादीकै पछि लागेको कारणले संगठन विस्तारमा कमी भएको उनको राय थियो । उनले आजको बैठकमा पनि त्यही १६ पन्ने धारणालाई दोहोर्याएको एक नेताले बताए ।
नेपालले आफूहरुले चाहेअनुसार पार्टी अगाडि बढाउन नसकेको भन्दै प्रतिवेदनमा भनेका छन्, ‘हाम्रो पार्टी हामीले चाहे जसरी अगाडि बढ्न सकेको छैन । पार्टी पङ्क्तिमा आलस्य, निराशा, निष्क्रियता, पलायनता जस्ता कमजोरी देखिएका छन् । यस प्रकारका कमजोरी देखिनुका विभिन्न कारणहरू छन् । सबभन्दा प्रमुख कारण पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाट पार्टीको बदख्वाइँ गर्ने अनुशासनहीन र अराजक कार्य हो ।’
साथै पार्टीका सिद्धान्त, विचार र दृष्टिकोणको दृढतापूर्वक पक्षपोषण गर्ने आँटको कमी, जिम्मेवारी लिने तर वहन नगर्ने प्रवृत्ति, आत्मविश्वासको कमीको कारणले पार्टीमा निराशा पैदा भएको अध्यक्ष नेपालको भनाइ छ । तर नेपालले प्रस्तुत गरेको प्रतिबेदनमा गम्भीर प्रश्न उठाउदै खनालले फरक मत राखेका छन् ।