सल्यानमा माइक्रो दुर्घटनामा दुई जनाको मृत्यु, १६ यात्रु घाइते

सल्यान । सल्यानमा भएको यात्रुवाहक माइक्रो (गाडी) दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । रुकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक गाडी दुर्घटनाका घाइतेमध्ये दुई जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिमका ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका २ की ३६ वर्षीया ओमपत खत्री छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख (डीएसपी) पुष्पराज मल्लका अनुसार दुर्घटनामा १६ यात्रु घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था चिन्ताजनक छ ।

आज दिउँसो रुकुमबाट नेपालगंज जाँदै गरेको लु २ ख ५७३१ नम्बरको गाडी राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट नजिकै दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

प्रहरीका अनुसार दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि दाङस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुर तर्फ लगिएको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट करिब दुइ सय मिटर तल खसेको थियो ।

adb bank long