‘घ’ वर्गको बन्दी म

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

रंगभेदविरोधी दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाले २७ वर्ष जेलमा बिताए । रोबेन आइल्यान्डको जेलमा उनले १८ वर्ष बस्न बाध्य हुनुपरेको थियो । सन् १९६४ मा उनी त्यहाँ पु-याइएका थिए । त्यहाँ बन्दीहरूलाई चार श्रेणीमा वर्गीकरण गरिएको थियो । राजनीतिक बन्दीलाई त्यहाँ सबैभन्दा तल्लो श्रेणी ‘घ’ मा राखिन्थ्यो । जेलभित्रको संसार, यसका क्रुरता र कुरूपताबारे मन्डेलाले आत्मजीवनी लङ वाक टु फ्रिडममा बयान गरेका छन् । सोही किताबको तल प्रस्तुत अंशलाई विनोदविक्रम केसीले अनुवाद गरेका हुन्  :-

NELSON MANDELA MORTO 28
 

जेलमा बन्दीहरूलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ– ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ । ‘क’ उच्च श्रेणी हो र यसले ज्यादा विशेषाधिकार प्राप्त गरेको छ, ‘घ’ सबैभन्दा तल्लो श्रेणी हो र यसलाई न्यूनतम सुविधा प्राप्त छ । राजनीतिक बन्दीहरू जेलमा प्रवेश गर्नेबित्तिकै स्वतः ‘घ’ श्रेणीमा पर्थे । जेल प्राधिकारी उनीहरूलाई ‘सुरक्षा बन्दी’ पनि भन्ने गर्छन् । वर्गीकरणले भेटघाट, चिठीपत्र, अध्ययन, किराना खरिद गर्ने अवसर र भैपरी आउने व्ययजस्ता विशेषाधिकार प्रभावित भएका थिए । यी विशेषाधिकार बन्दीको जीवनशक्ति नै हुन् । सामान्यतया राजनीतिक बन्दीलाई ‘घ’ श्रेणीको हैसियतबाट ‘ग’ मा पुग्न वर्षाैं लाग्थ्यो ।
वर्गीकरण पद्धतिलाई हामी घृणा गथ्र्यौ । यो भ्रष्ट र अपमानजनक थियो ।

यो बन्दीहरूलाई, खास गरी राजनीतिक बन्दीहरूलाई दमन गर्ने अर्काे तरिका थियो । सबै राजनीतिक बन्दीलाई एउटै समूहमा राख्नुपर्ने हाम्रो माग थियो । यसको आलोचना गरे पनि हामी यसलाई उपेक्षा गर्न सक्दैनथ्यौँ । वर्गीकरण प्रक्रिया जेल जीवनको कठोर विशेषता थियो । तपाईंले ‘घ’ वर्गको बन्दीका रूपमा हरेक छ महिनामा एउटा पत्र पाउने सुविधाको विरोध गर्नुभयो भने प्राधिकारीहरूको जवाफ हुन्थ्यो, ‘आफ्नो व्यवहार सुधार, ‘ग’ वर्गको बन्दीमा पर र हरेक छ महिनामा दुइटा चिठी प्राप्त गर्न समर्थ बन । तपाईंले पर्याप्त खानेकुरा नपाएको गुनासो गर्नुभयो भने अधिकारीहरू तपाईंलाई हेक्का दिलाउँथे कि यदि तपाईं ‘क’ वर्गको बन्दी हुनुहुन्थ्यो भने तपाईं बाहिरबाट धनादेश (मनी अर्डर) प्राप्त गर्न सक्षम हुनुहुन्थ्यो र जेलको क्यान्टिनमा अतिरिक्त खानेकुरा किन्न समर्थ हुनुहुन्थ्यो । स्वतन्त्रता सेनानीले पनि किराना र किताब किन्ने सामथ्र्यबाट लाभ उठाउन सक्थ्यो ।

यो वर्गीकरण बन्दीको कैद अवधिसँग समानान्तर ढंगले अगाडि बढ्थ्यो । तपाईंले आठ वर्षको कैद सजाय पाउनुभएको थियो भने सामान्यतया तपाईं अघिल्ला दुई वर्षमा ‘घ’ वर्गमा, त्यसपछिका दुई वर्ष ‘ग’ वर्गमा, अर्काे दुई वर्ष ‘ख’ वर्गमा र पछिल्ला दुई वर्ष ‘क’ वर्गमा पर्नुहुन्थ्यो । तर, जेल प्रशासनले वर्गीकरण पद्धतिलाई राजनीतिक बन्दीविरुद्ध हतियारका रूपमा प्रयोग गरेको थियो । हाम्रो आचरणमा नियन्त्रण कायम गर्न ऊ हामीलाई कठिन प्रयत्नपछि हामीले हासिल गरेको समूहबाट झारिदिने धम्की दिन्थ्यो ।

रोबेन आइल्यान्डमा ल्याइनुअघि मैले करिब दुई वर्षको जेल जीवन व्यतीत गरिसकेको थिएँ । यहाँ पनि म ‘घ’ श्रेणीकै बन्दी थिएँ । माथिल्ला श्रेणीमा पुग्दा पाइने विशेषाधिकार र सुविधाको चाहना गरे पनि मैले आफ्नो आचरणमा सम्झौता गर्न अस्वीकार गरिदिएँ । माथिल्लो श्रेणीमा पुग्ने द्रुत उपाय भनेको विनीत हुनु र कुनै गुनासो नगर्नु थियो । ‘मन्डेला, तपाईं उद्दण्ड मान्छे हो,’ जेलका पहरेदार मलाई भन्थे, ‘तपाईं जीवनभरि ‘घ’ श्रेणीमै रहनुहुनेछ ।’ हरेक छ महिनामा वर्गीकरणको लेखाजोखा गर्न जेल परिषद्ले बन्दीहरूलाई बोलाउँथ्यो । जेलका नियमकानुनका सन्दर्भमा हाम्रो व्यवहारको मूल्यांकन गर्नु परिषद्को काम थियो । तर, हामीले के थाहा पायौँ भने परिषद् आचरणको मूल्यांकनकर्ताभन्दा राजनीतिक कचहरीको भूमिका निर्वाह गर्न चाहन्थ्यो । पहिलो भेटमा परिषद्का अधिकारीले मसँग अफ्रिकी नेसनल कङ्ग्रेस र मेरो आस्थाबारे प्रश्न गरे । यसको वर्गीकरण पद्धतिसँग कुनै सम्बन्ध थिएन । उनीहरूको प्रश्नको जवाफ दिनु र उनीहरूलाई आफ्नो विश्वासमा ढाल्न सक्छु भन्ने सोच्नु विल्कुल निरर्थक थियो । हामीलाई मान्छेलाई जस्तो व्यवहार गरिने दुर्लभ अवसरमध्ये यो एक थियो । पछि मैले के महसुस गरेँ भने यो हामीबाट सूचना र जानकारी बटुल्ने अधिकारीहरूको एउटा तिकडम थियो र म यसको जालमा फसेको थिएँ । त्यसको केही समयपछि जेल परिषद्सँग कुनै पनि प्रकारको राजनीतिक बहस नगर्ने हामी बन्दीहरूबीच सहमति भयो ।

‘घ’ वर्गको बन्दी भएकाले हरेक छ महिनामा एक जनासँग भेट्ने तथा एउटा चिठी पठाउने र प्राप्त गर्ने अधिकार मैले पाएको थिएँ । यो मलाई जेल व्यवस्थापनको सबैभन्दा अमानवीय प्रतिबन्ध लाग्थ्यो । परिवारसँग सञ्चार र सम्पर्क गर्न पाउनु व्यक्तिको मानवअधिकार हो, जसलाई जेल व्यवस्थापनको कृत्रिम वर्गीकरणले सीमाबद्ध गर्नु हुँदैन । तर, यो जेल जीवनको कठोर सत्य थियो । भेटघाट र चिठीपत्र ‘पहिलो दर्जा’का आफन्तहरूमा सीमित थिए । यो सीमा हाम्रा लागि कष्टप्रदमात्रै थिएन, हामी यसलाई नश्लवादी पनि ठान्थ्यौँ । निकटतम परिवारको अफ्रिकी बोध युरोपेली वा पश्चिमीभन्दा धेरै पृथक् छ । हाम्रो पारिवारिक संरचना विशाल र अधिक समावेशी छ । आफूलाई साझा पुर्खाको वंशज दाबी गर्ने व्यक्ति एउटै परिवारको सदस्य भएको विश्वास गर्छाैं हामी ।

जेलमा परिवारको अशुभ समाचारभन्दा खराब कुरो एउटै थियो– परिवारको कुनै समाचार नपाउनु । यथार्थ, जतिसुकै निराशाजनक र प्रतिकूल किन नहोस्, भन्दा मान्छेले कल्पना गरेको विपत्ति र वियोगको सामना गर्न कठिन हुन्छ । कुनै चिठी नआउनुभन्दा अशुभ समाचार लिएर आउने चिठी हामीलाई प्रिय थियो ।

यस्तो दीनहीन प्रतिबन्धलाई पनि अधिकारीहरू दुरुपयोग गरिदिन्थे । चिठीको प्रतीक्षा अत्यन्त तीव्र हुन्थ्यो । जेलमा महिनामा एक पटक बन्दीहरूलाई चिठीपत्र बाँडिन्थ्यो । कहिलेकाहीँ त बन्दीले छ महिनासम्म कुनै चिठी पाउँदैनथ्यो । छ महिनामा एउटा पत्र प्राप्त गर्ने अनुमति पाउनु र त्यसमाथि कुनै पत्र नपाउनु– यो ठूलो प्रहार हुन्थ्यो । बन्दी अन्योलमा पथ्र्याे र सोच्ने गथ्र्याे– ‘मेरी पत्नी र मेरा बच्चाहरू कुन हालतमा होलान् ? मेरी आमा र बहिनी के गर्दै होलान् ?’ चिठी नपाउँदा म विशाल करारु मरुभूमिझैँ सुक्खा र बाँझो हुन्थेँ । जेल अधिकारीहरू द्वेषपूर्वक मेरा चिठी प्रायः रोक्का गरिदिन्थे । म जेलका पहरेदारहरूले भन्ने गरेको सम्झन्छु– ‘मन्डेला, तिम्रो चिठी आएको छ तर, हामी दिन सक्दैनौँ ।’ चिठी किन नदिएको वा कसले पठाएको हो, केही बताइँदैनथ्यो । यस्ता परिस्थितिमा रिसले विष्फोट नहुन ठूलै आत्म–अनुशासन चाहिन्थ्यो । त्यसपछि, म उपयुक्त बाटोमार्फत् विरोध गर्थें र कहिलेकाहीँ त्यसरी रोकिएका चिठी पाउँथेँ पनि ।

चिठी पाउनु बन्दीहरूका लागि ठूलो उत्सव हुन्थ्यो । चिठी गृष्मको झरीजस्तो हुन्थ्यो, जसले मरुभूमिलाई पनि फक्राउन–फुलाउन सक्थ्यो । जब मेरो चिठी लिएर जेल कर्मचारी आउँथे, मलाई चिठी हात पार्न हतार हुन्थ्यो तर म आफ्नो त्यो अधैर्य देखाउँदिनथेँ । म उनीहरूका हातबाट एकदम शान्त र आरामपूर्वक चिठी लिन्थेँ । ठाउँको ठाउँ खाम च्यातेर चिठी पढ्न तड्पिए पनि म अधिकारीहरूलाई मेरो व्यग्रता र उत्सुकता हेरेर सन्तुष्टि लिन दिन्नथेँ । म चिठी लिएर बिस्तारै आफ्नो कोठरीमा आउँथेँ । चिठी खोल्नुअघि मेरा मनमा असंख्य कुरा खेल्थे ।

अघिल्ला केही महिनामा मैले विनीको एउटा चिठी पाएँ । चिठी कति धेरै काँटछाँट (सेन्सर) गरिएको थियो भने यसमा विनीको सम्बोधन र अभिवादनबाहेक केही बाँकी थिएन । सेन्सरकर्ताले आपत्तिजनक अनुच्छेदहरूमा कालो मसी पोतिदिएका हुन्थे । पछि, उनीहरूले सेन्सर विधि परिवर्तन गरे, किनभने उनीहरूले कालो मसी धोएर ती अनुच्छेद पढ्न सकिने थाहा पाएका थिए । अब उनीहरू पत्ती (रेजर) प्रयोग गरेर सिंगो अनुच्छेद काट्न थाले ।

चिठी कागतको अगाडि र पछाडि लेखिएको हुन्थ्यो । अगाडिको अनुच्छेद काट्दा पछाडिको पनि काटिनु स्वाभाविक थियो । जेलका कर्मचारी टुक्राटुक्रा भएका झुत्रा चिठी बाँड्दा आनन्दित भएजस्तो लाग्थ्यो । सेन्सर व्यवस्थाले चिठी वितरणमा ढिलाइ भएको थियो किनभने जेलका कर्मचारी अंग्रेजी भाषामा दक्खल राख्दैनथे । कहिलेकाहीँ त एउटा चिठी सेन्सर गर्न एक महिना लाग्थ्यो । हामीले लेखेका चिठी पनि सेन्सर हुन्थे । हामीले प्राप्त गर्ने चिठीझैँ हामीले पठाएको चिठी पनि चिल्थाचिल्था परेको हुन्थ्यो ।

रोबेन आइल्यान्डमा आइपुगेको तीन महिना पुग्दा नपुग्दै अगस्टको अन्त्यतिर एक दिन मलाई अधिकारीहरूले जानकारी दिए कि भोलिपल्ट मलाई भेट्न कोही आउँदैछ । को आउँदैछ, उनीहरूले भनेनन् । मेरा अनन्य मित्र र आइल्यान्डका बन्दी वाल्टर सिसुलुलाई पनि त्यसै भनिएको थियो । मैले अनुमान गरेँ, आशा गरेँ, इच्छा गरेँ र विश्वास गरेँ कि त्यो आगन्तुक विनी वा वाल्टरकी पत्नी अल्बर्टिना हुनुपर्छ ।

हामीलाई आइल्यान्डमा पु¥याइएको थाहा पाएदेखि विनी मलाई भेट्न प्रयत्नरत थिइन् । निषेधित व्यक्ति भएकाले विनीले कानुनमन्त्रीबाट विशेष छुट प्राप्त गर्नुपथ्र्याे, किनभने उनलाई मसँग सम्पर्क गर्न सख्त कडाइ गरिएको थियो । अधिकारीहरूको सहयोग पाए पनि रोबेन आइल्यान्डमा कसैलाई भेट्न जानु सजिलो काम थिएन । बन्दी र आगन्तुकले आधा घण्टाभन्दा बढी समय बिताउन पाउँदैनथे । राजनीतिक बन्दीहरूलाई ‘सम्पर्क भेटघाट’को अनुमति थिएन । अर्थात्, बन्दी र आगन्तुक एउटै कोठामा भेट्न पाउँदैनथे ।

nelson mandela

अधिकारीहरूले भेटघाटको पूर्वयोजना बनाएका हुँदैनथे । उनीहरू बन्दीकी पत्नीलाई हठात् सम्पर्क गर्थे र भन्थे, ‘भोलि श्रीमान्लाई भेट्न तपाईंलाई अनुमति छ ।’ यो अत्यन्त असुविधाजनक हुन्थ्यो र भेटघाट प्रायः असम्भव हुन्थ्यो । बन्दीको परिवारको सदस्यले कुनै तरहले भेटघाटको चाँजो मिलाए पनि जेलका अधिकारीहरूले अनुमति दिन जानाजान विलम्ब गर्थे । आफन्त बन्दीलाई भेट्न हवाईजहाज चढिसकेको हुन्थ्यो र पनि उसलाई भेट्ने अनुमति दिन ढिलासुस्ती गरिन्थ्यो । अधिकांश बन्दीका परिवार सदस्य केपबाट टाढा हुन्थे र उनीहरूसँग पैसा हुँदैनथ्यो । रोबेन आइल्यान्डमा नातेदार बन्दीलाई भेट्न जानु उनीहरूको बुँताबाहिर थियो । गरिब बन्दीहरू वर्षाैंसम्म आफ्ना पत्नीहरूलाई भेट्न पाउँदैनथे । रोबेन आइल्यान्डमा थुप्रै बन्दी यस्ता थिए, जसले एक जना आगन्तुकलाई पनि नभेटी एक दशक वा सोभन्दा बढी समय बिताएका थिए ।

‘सम्पर्कविहीन भेटघाट’ का लागि तोकिएको कक्ष साँघुरो थियो । कक्षमा झ्याल थिएन । बन्दीहरूको खण्डमा साना वर्गाकार काँचका पाँच वटा घनाकार घेरा लहरै थिए । त्यहाँबाट कक्षपारि पनि त्यस्तै घनाकार घेरा देखिन्थे । बन्दी र आगन्तुक कुर्सीमा बसेर बाक्लो र मैलो काँचमा खोपिएका ससाना प्वालबाट कुराकानी गर्थे । उनीहरूले चर्काे आवाजमा बोल्नुपथ्र्याे । पछि, सीमान्त सुधारका रूपमा जेल प्राधिकारीले काँचका अगाडि माइक्रोफोन र स्पिकर जडेका थिए ।  बिहान अबेर वाल्टर र मलाई भेटघाट कक्षमा बोलाइयो । कोठाको एउटा कुनामा हामी बस्यौँ । म व्यग्रतासहित पर्खिरहेको थिएँ । सिसाको उतापट्टि विनीको मायालु अनुहार देखियो । मलाई जेलमा भेट्न आउँदा विनी जहिले पनि नयाँ र सुन्दर पहिरनमा हुन्थिन् । आफ्नी पत्नीलाई छुन नपाउनु, सुस्तरी कोमल आवाजमा कुरा गर्न नपाउनु र अन्तरंग पल बिताउन नपाउनु मेरा निम्ति घोर निराशाजनक हुन्थ्यो । हामीले घृणा गर्ने मान्छेहरूका आँखाअगाडि एउटा दूरीमा रहेर हामीले आफ्नो सम्बन्ध निर्वाह गर्नुपथ्र्याे ।

विनी अत्यन्त तनावमा भएको थाहा पाउन मलाई बेर लाग्दैनथ्यो । मलाई यस्तो हालतमा देख्नु उनका लागि कष्टकर थियो । एक त आइल्यान्डमा आइपुग्नु नै कठिन थियो । त्यसमाथि, जेलको कठोर रिवाज, जेलका कर्मचारीका प्रस्ट अपमानजनक व्यवहार र सम्पर्कको औपचारिकता ! विनीलाई कति नमज्जा लाग्दो हो !

मैले पछि थाहा पाएँ, त्यतिबेला विनीले दोस्रो निषेध आदेश पाएकी थिइन् र बालबालिका कल्याण कार्यालयको जागिरबाट उनलाई निकालिएको थियो । उनलाई निष्कासन गर्नुअघि उनको कार्यालयमा पुलिसले छापा मारेको थियो । विनी मसँग गोप्य सम्पर्कमा रहेकोमा प्राधिकारीहरू विश्वस्त थिए ।

सामाजिक कार्यकर्ताको जागिर विनीलाई साह्रै प्रिय थियो । यो उनका लागि संघर्षको क्रियाशील माध्यम थियोः बालबालिकाका लागि धर्मअभिभावक खोजिदिनु, बेरोजगारहरूलाई काम दिलाउनु र बीमा नगरिएका मानिसका लागि स्वास्थ्योपचारको व्यवस्था गरिदिनु । मेरी पत्नीमाथि लागेको प्रतिबन्ध र उनले बेहोरेको उत्पीडनले मलाई साह्रै व्याकुल बनाउँथ्यो । मैले बालबच्चा र उनको हेरचाह गर्न सकिनँ । र, राज्य उनको जीवन कष्टकर बनाइरहेको थियो । आफ्नो निरीहताले मलाई भित्रभित्र कुटुकुटु खाइरहन्थ्यो ।

हाम्रो बातचित एकदम असहज भइरहेको थियो । उनका पछाडि दुई जना र मेरा पछाडि तीन जना पहरेदार उभिएका थिए । उनीहरूको भूमिका निगरानी गर्नुमात्रै थिएन, हामीलाई तर्साउनु पनि थियो । जेलको नियमले कुराकानी कि अंग्रेजीमा कि अफ्रिकान्समा हुनुपर्ने निर्धारण गरेको थियो । कुनै पनि अफ्रिकी भाषामा बोल्नु निषेधित थियो । परिवारिक विषयमा मात्रै कुराकानी गर्न पाइन्थ्यो ।

परिवारलाई छोडेर एक वाक्य पनि दायाँबायाँ भयो र राजनीतिक विषयमा पुग्यो भने भेटघाटको समय तत्काल सकिन्थ्यो । कुराकानीका क्रममा पहरेदारले नचिन्ने कुनै नाम उच्चारण भयो भने उनीहरूले हस्तक्षेप गर्थे र उक्त व्यक्तिबारे विभिन्न प्रश्न गर्थे– ‘ऊ को हो ? ऊसँग तपाईंको सम्बन्ध के छ ?’ यस्तो समस्या आइरहन्थ्यो, किनभने जेलका कर्मचारी अफ्रिकी नामका प्रकार र प्रकृतिबारे अनभिज्ञ हुन्थे । भेटघाटका अमूल्य मिनेटहरू उनीहरूलाई आफ्ना परिवारका सदस्यबारे बयान गरेर बर्बाद गर्दा साह्रै नमज्जा लाग्थ्यो । तर, उनीहरूको अज्ञान हाम्रा लागि फाइदाजनक पनि हुन्थ्यो । हामी आफूले कुरा गर्न चाहेका व्यक्तिलाई छद्म नाम (कोड नेम) दिन्थ्यौँ र आफ्ना परिवार सदस्यबारे कुरा गरिरहेको बहाना गथ्र्याैं ।

रोबेन आइल्यान्डमा विनीसँगको पहिलो भेट महत्वपूर्ण थियो । उनी मेरो स्वास्थ्यबारे चिन्तित थिइन् । बाहिर हामीलाई शारीरिक यातना दिइन्छ भन्ने कुरा फैलिएको थियो । मैले उनलाई भनेँ, ‘म ठीकठाक र तन्दुरुस्त छु । अलिकति दुब्लाएको मात्र हुँ ।’ उनी पनि दुब्लाएकी थिइन् । यसको कारण तनाव हो । प्रत्येक भेटमा म उनलाई अलिकति मोटाउनुप¥यो भन्थेँ । उनी जहिले पनि डाइटिङ गर्थिन् । र, म यसको विरोध गर्थें । पहिलो भेटमा मैले विनीलाई बच्चाबच्ची, आमा र दिदीबहिनीको हालखबर सोधेँ । विनीको माइतीबारे पनि सोधेँ ।

अचानक मैले पहरेदारले मेरो पछाडि ‘समय सकियो’, ‘समय सकियो’ भनेको सुनेँ । म ऊतिर फर्किएँ र विश्वास नमानेझैँ गरी उसलाई हेरेँ । आधा घण्टा यति छिट्टै सकिनु असम्भव थियो ! तर, ऊ सही थियो । भेटघाटको समय आँखा झिम्काउन नपाउँदै सकिन्थ्यो । सम्पूर्ण जेल जीवनमा पहरेदारले हरेक पटक ‘समय सकियो’ भन्दा म विस्मित भएको छु ।  हामी कुर्सीबाट उठ्यौँ र बिदा भयौँ । विनीसँगको हरेक भेटपछि म उनको उपस्थिति बोध गरिरहन्थेँ । तर, जेलका कर्मचारीलाई आफ्नो यस्तो भावुकता देखाउँदिनथेँ । कोठरीमा फर्केपछि मैले हामीले के कुरा गरेका थियौँ भनेर सम्झिरहेँ । केही दिन, हप्ता र महिनासम्म म त्यही भेट निरन्तर सम्झिरहन्थेँ । मलाई थाहा थियो– अब छ महिनाअघि म विनीलाई भेट्न पाउँदिनथेँ ।
अर्काे दुई वर्षसम्म विनीले मलाई भेट्न पाइनन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long