काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा साना दलले ठूला दललाई गज्जबकै धक्का दिने रिपोर्ट आएपछि ठूला दलका नेताहरु झस्किएका छन् ।
खासगरी राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अनुमान गरिएभन्दा राम्रो मत ल्याउने विश्लेषण छ । मुख्य दलसँग जनता निकै रुष्ट रहेको र यसपटक विकल्पका रुपमा ती दुई दललाई मत खन्याउने सम्भावना सुरक्षा निकायले देखेका छन् । देशभरिबाट एउटै प्रकारको रिपोर्ट गृहमा पुगेको छ ।
यसरी रिपोर्ट पुगेपछि अहिले गृह मन्त्रालयमा हंगामा शुरु भएको बताईन्छ । राप्रपाको देशभरि पुरानै संगठन रहेकोले प्रत्याक्षमा सोचेअनुसार मत नल्याएपनि समानुपातिकमा ठूला दललाई नै धक्का दिन सक्ने रिपोर्ट अहिले गृहमा पुगेको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि देशैभरि उम्मेदवारी दिएको छ । स्थानीयरूपमा लोकप्रिय रहेकै व्यक्तिहरु सो पार्टीका उम्मेदवार बनेका छन् । उनीहरुले प्रत्यक्षमा जित्ने मत नल्याए पनि ठूला दलको उम्मेदवारको धेरै मत काट्ने भएकाले नतिजालाई तलमाथि पार्न सक्छन् । साथै समानुपातिकमा पनि सो पार्टीले सहजै थ्रेसहोल्ड कटाउने रिपोर्टले सत्तारुढ दलका नेताहरु तनावमा परेका छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार गुप्तचरको पछिल्लो रिपोर्टमा आगामी निर्वाचनमा नेपाली कांग्रेस नै पहिलो पार्टी बने पनि समानुपातिकमा एमालेले धेरै मत ल्याउने सम्भावना छ । तेस्रो दल माओवादी केन्द्र हुने र चौथोमा समाजवादी, जसपा र राप्रपामध्ये आउनसक्ने विश्लेषण गरिएको छ । रवीन्द्र मिश्रदेखि ज्ञानेन्द्र शाहीसम्म समावेश भएको र भ्रष्टाचारविरोधी एजेन्डा बनाएकाले राप्रपाप्रति यसपटक जनताको आकर्षण देखिएको छ । अर्को हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्र तथा प्रदेश सरकार खारेजीको चुनावी एजेन्डा बनाएर उसले समानुपातिकमा भोट तान्ने रणनीति बनाएको छ ।
स्थानीय तहको निर्वाचनले नै ठूला दलले जनताको विश्वास गुमाइसकेको संकेत गरेको छ । विकल्प नहुँदा स्थानीय दलमा दलकै उम्मेदवार विजयी भएको र संसदीय निर्वाचनमा धेरै नयाँ उम्मेदवार भएकाले उनीहरुले ठूलो भोट तान्ने विश्लेषण छ ।