Rastriya Banijya Bank
Suit Mala Ad
Array
(
)

नेपाल संवत् र म्हपूजा

 

 

नेपालको इतिहासमा चलनचल्तीको रूपमा देखिएको शक संवत्, मानदेव संवत्मध्ये नेपाल संवत् सबैभन्दा बढी चलेको संवत् नै देखिन्छ । यो संवत् विदेशबाट आयातित संवत् होइन । नेपाल देशको नामबाट प्रचलनमा आएको यो संवत् मौलिक संवत् हो । नेपालको ऐतिहासिक घटनाक्रमलाई अध्ययन गरी हेरिएको खण्डमा धेरैजसो अभिलेख नेपाल संवत्मा राखिएको पाइन्छ । तर अहिले विक्रम संवत् प्रचलनमा छ ।

नेपाली इतिहासमा शक संवत्, मानदेव संवत्, नेपाल संवत् र विक्रम संवत् गरी चारवटा संवत् प्रचलनमा आएको देखिएको छ । नेपाल संवत् मध्यकालमा प्रचलनमा आएको थियो । सुमतितन्त्र नामक ज्योतिष ग्रन्थमा नेपालमा प्रचलित संवत्को संक्षिप्त वर्णन गरिएको छ । उक्त ग्रन्थ मध्यकालमा नेपालमा निकै प्रचलनमा आएको थियो । त्यस वर्णनमा शक संवत् ४९८ देखि चलेको संवत् ३०४ वर्षसम्म चल्यो, त्यसपछि अर्को संवत् (नेपाल संवत्) चल्यो भन्ने भावको कुरा परेको छ । लिच्छविकालको अन्तिम समयमा बौद्ध धर्मको निकै प्रचार प्रसार भएको थियो । यसै धर्मको शान्तिवादी नीतिबाट प्रभावित भई उनीहरूको क्षेत्रीयत्वमा समेत कमी आउन थालेको थियो । नवौँ शताब्दीको यस समयमा उत्तर भारतबाट व्यापार व्यवसायको खोजीमा नेपाल उपत्यकामा थुप्रै वैश ठकुरीको प्रवेश भएका थिए । त्यसरी प्रवेश गरेका वैश ठकुरीहरूले सैनिक सेवामा प्रवेश गरी आफूहरू पनि क्षेत्री नै बनेका थिए । यसै ठकुरी वंशका राजा मानदेव चतुर्थका छोरा राघवदेवले वि.सं. ९३६ कात्तिक शुक्ल प्रतिपदा तदनुसार सन् ८७९ अक्टोबर २० तारिखदेखि नेपाल संवत् चलाइएको थियो । यहाँ नेपाल संवत् सुरु हुँदा लिच्छवि संवत् ८०२ रहेको इतिहासकार बताउँछन् ।

राजा गुणकाम देवका पालामा कलिगत वर्ष ३९८० जाँदा साख्वा भन्ने सुद्र जातिले धेरै सुवर्ण पाई नेपाल भरमा अऋणी गरी संवत् फिराएको र पशुपतिनाथको दक्षिण ढोका सामुन्ने आफ्नो शिला मूर्ति स्थापना गरेको कुरा देवमाला वंशावलीमा उल्लेख छ । विष्णुमतीको दोभान, लखुतीर्थबाट शुभ मुहूर्तमा झिकेको बालुवा सुन भएको र त्यही सुन बेचेर साख्वा भन्ने व्यक्तिले सम्पूर्ण जनताको ऋण मोचन गरेको खुसीयालीमा नेपाल संवत् चलाएको भन्ने मान्यता सत्य हो कि भनी मान्न सकिन्छ ।

नेपाल संवत् १ देखि गणना गर्दा ८८८ वर्षसम्म चलेको पाइन्छ । ने.सं. ८८८ मा नेपालमाथि विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले शक संवत् र नेपाल संवत्लाई पुनः प्रचलनमा ल्याए । त्यसपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले भारतीय महाद्वीपका एकजना रजौटा विक्रमादित्यको नाममा चलाइएको दाबी गरिएको विक्रम संवत् प्रचलनमा ल्याए । पछि उनैले वि.सं. १९६० तिर जागिरदारलाई तलब दिन अप्ठ्यारो परेको कारण देखाई नेपाल संवत्लाई नै हटाइदिए ।

नेपाल संवत्को नयाँ वर्षको दिन नेवारहरूको ‘म्हपूजा’ गर्ने चलन रहेकोले पनि यो संवत् चलेको अनुमान गरिएको छ । वास्तवमा नेवारहरूको म्हपूजा मान्ने गरेको कारणले मात्र नेपाल संवत् चलनमा आएको भने पक्कै होइन । नेपालमण्डलमा बस्ने नेवार समुदायको मौलिक संवत्को रूपमा नेपाल संवत् रहेको छ । राजा राघवदेवले यो संवत् चलाएको दिन कार्तिक शुक्ल प्रतिपदा तिथि पर्छ । नेपाल संवत् चन्द्रमासको आधारमा रहेको हुन्छ । यो संवत् कार्तिक शुक्ल पक्ष प्रतिपदा तिथि अर्थात् कछलाथ्व पारुदेखि प्रारम्भ हुन्छ । यो दिनदेखि नेपाल संवत्को नयाँ पात्रो सुरु हुने गर्छ । यो दिनमा नेवार समुदायले मान्ने गरेको म्हपूजा पर्छ । यसरी नेपाल संवत् सुरु गरेको दिन नेवार समुदायले मान्दै आएको म्हपूजा पर्ने गरेकोले यस दिनलाई नेवारहरूले नयाँ वर्षको रूपमा मान्दै आइरहेका छन् । म्हपूजाको दिन नेपाल संवत् पर्नुलाई संयोगको रूपमा मात्र लिन सकिन्छ ।

‘नेपालमण्डल’ भन्ने शब्द काठमाडौँको ज्ञानेश्वरको एउटा मन्दिरमा रहेको लिच्छवि राजा जयदेव द्वितीय (ई.सं. ७१३–७३३) को शिलालेखमा सर्वप्रथम उल्लेख गरिएको देखिन्छ । प्राचीनकालमा सम्पूर्ण नेपाललाई नेपालमण्डल भन्ने गरिन्थ्यो । काठमाडौँ उपत्यका र वरपरका क्षेत्र समेटेका नेवारका साझा पुख्र्यौली भूमि नेपालमण्डल हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व नेपालमण्डल र वरपरका क्षेत्रमा बसोबास गर्ने सबै जनजाति, धर्म मान्ने समुदाय नै नेवार कहलिएका थिए ।

मध्यकालमा नेपाल तीन खण्डमा विभाजित भएपछि नेपाल उपत्यकाका राज्यहरूलाई नेपालमण्डल भनिने गरेको पाइन्छ । नेपालमण्डल भन्नाले मल्लकालीन कान्तिपुर, ललितपुर, भक्तपुर र दोलखाको संयुक्त क्षेत्रलाई जनाउने गरिन्थ्यो । नेपालको करिब १८,७४२ वर्ग कि.मी. क्षेत्रफल ओगटेको हालका १२ वटा जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप, सिन्धुली र मकवानपुर) नै नेपालमण्डल हो । नेपालमण्डलमा बस्ने नेवार समुदायको मौलिक संवत्को रूपमा नेपाल संवत् रहेको छ । राघवदेवले यो संवत् चलाएको दिनमा नेवार समुदायले मान्ने गरेको म्हपूजा पर्छ । नेवार समुदायले त्यो दिनमा शुद्ध भई अक्षेता, पोताय् (चामलको पिठो), कालो भटमास, अविर, तेलको मण्डप बनाई बिमिरो, फलफूल राखी दियो बत्ती (कपडामा बेरेर एक हात लामो हुने गरी बनाएको) बाली घरको मुख्य व्यक्तिले परिवारका सबै सदस्य र आफ्नोसमेत पूजा गर्ने र जजंका (काँचो धागोमा रङ्गीन जरी तथा विभिन्न कपडाको टुक्रा जोडी बनाएको), फूलको माला लगाई आफ्नो दीर्घायु, निरोगी एवं सबै परिवारजनको स्वास्थ्य लाभको कामना गरी बारा, अण्डा, माछा, दही, रक्सीको सगुन लिने गरिन्छ । सगुन सुस्वास्थ्यको प्रतीक पनि हो । अन्य समुदायमा भने म्हपूजा गर्ने चलन छैन, तर गोबद्र्धन पूजा गर्ने चलन रहेको छ । गोबद्र्धन पूजा भने द्वापर युगदेखि नै प्रचलनमा रहेको छ । नेपाल संवत् सुरु गरेको दिन नेवार समुदायले म्हपूजा गर्ने भएको र यसै दिनदेखि नयाँ पात्रोको पनि सुरु हुने भएकोले यस दिनलाई नेवारहरूले नयाँ वर्षको रूपमा पनि मान्दै आइरहेका छन् । यो दिनलाई नेवारी समुदायले सांस्कृतिक पर्वको रूपमा पनि मान्ने गरेका छन् । स्वस्थ जीवन र संस्कृतिको समिश्रण यो पर्वमा रहेको छ । नेपालमण्डलमा यस किसिमको म्हपूजा सुरु हुँदाका  बखतमा यहाँ लिच्छवि राजा जयदेव द्वितीयको शासन रहेको थियो । नेपाल संवत् मान्नु भन्दा धेरै पहिलेदेखि नै नेवारी समुदायमा म्हपूजा गरी आत्म शुद्धि गर्ने चलन चलिसकेको देखिन्छ ।

नेपाल संवत् चन्द्रमासको आधारमा गणना गरी बनाएको हुन्छ । चन्द्रवर्ष मोटामोटी रूपमा ३५४ दिनको हुन्छ र प्रत्येक ३ वर्षमा अधिक मास हुने गर्छ । नेपाल संवत्अनुसार पनि एक वर्षमा १२ महिना हुने गर्छ । तर हरेक तेस्रो वर्षमा एक वर्षको १३ महिना हुन्छ । कछला, थिङ्ला, पोहेला, सिल्ला, चिल्ला, चौला, बछला, तछला, दिल्ला, गुँला ञँला, कौला नेपाल संवत्अनुसारका महिना हुन् । उक्त १२ महिनाका अतिरिक्त प्रत्येक तीन वर्षमा आउने अधिक मासलाई अनला अर्थात् मलमास भन्ने गरिन्छ । यस संवत्का हरेक तिथिमिति चन्द्रमासमा आधारित हुने भएकोले कहिलेकाँही तिथिमिति टुटफुट हुने गर्छ । यसले गर्दा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९६० तिर आएर जागिरदारलाई तलब दिन अप्ठ्यारो परेको नेपाल संवत्लाई हटाइदिए । विक्रम संवत्लाई आधिकारिक रूपमा मान्यता दिन थालेपछि यो संवत् ओझेलमा पर्न गएको थियो । पछि वि.सं. २०६५ मा नेपाल सरकारले पुनः राष्ट्रिय संवत्को रूपमा मान्यता दिइएको थियो ।

गणनामा विक्रम संवत्को पात्रोलाई आधार लिइए पनि सबै सांस्कृतिक चाडपर्व, जन्म, मृत्यु, विवाह संस्कार एवं पूजाआजा चन्द्रमासको पात्रोमा आधारित भएर नेपाल भरमा मनाउँदै आइरहेका छन् । सम्पूर्ण नेपालमण्डल र नेपाल राज्य भरी छरिएर रहेका नेवारहरूको राष्ट्रिय पहिचान बनिसकेको नेपाल संवत् आज सबै नेपालीले स्वीकार गरिसकेका छन् । यम पञ्चकमा पूजा गरिने काग, कुकुर, गाई, गोरु, भातृपूजाको अतिरिक्त म्हपूजालाई नेपाललगायत विदेशमा बस्ने नेवार समुदायले समेत ज्यादै महìवका साथ मनाउँदै आइरहेका छन् । देशको अमूर्त सांस्कृतिक सम्पदाको रूपमा रहेको म्हपूजालाई नेवारी समुदायले चिरकालसम्म अँगाल्दै भावी पुस्तालार्ई हस्तान्तरण गर्दै जानु पर्छ ।

गोरखापत्रबाट

Rastriya Banijya Bank