अर्थमन्त्रीविरुद्धको छानबिनलाई अस्वीकार गर्ने र यो मुद्दालाई अन्तर्राष्ट्रिय मुद्दा बनाउन अध्यक्ष ओलीको उदघोष

काठमाडौं । नेकपा एमाले अध्यक्ष एबम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा अनधिकृत व्यक्तिको प्रवेश गरी करको दायरा हेरफेर गराउने तत्कालिन अर्थमन्त्री जनार्दन शर्माविरुद्धको मुद्दा देशविरुद्धको अपराध भएकाले अन्तर्राष्ट्रिय मुद्दा बनाउनुपर्ने धारणा व्यक्त गरेका छन।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठक तथा प्रशिक्षण समारोहको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले गठबन्धनमा रहेका दलहरूले आफू अनुकूल हुने गरी समिति बनाएर हुन्छ कि हुन्न भन्दै अर्थमन्त्री चोख्याउन खोजेको बताएका छन् ।

‘जसलाई चाहिएको त्यसलाई अल्पमतमा राखेर गठबन्धनमा बहुमत राख्ने गरी छानबिन समिति बनाएको छ ’ ओलीले भने,‘ त्यसले गठबन्धनको भनाइ अनुसार निष्कर्ष निकालेको हो । ’

सरकारले गम्भीर गल्ती गर्दा पनि त्यसको प्रभावकारी छानबिन हुन नसकेको भन्दै उनले ११ सदस्यीय समितिमा एमालेलाई अल्पमतमा पारेर अर्थमन्त्रीलाई निर्दोष देखाउने काम भएको बताए । सरकारले छानबिन समितिमा पनि बहुमत र अल्पमतको खेल खेलेको भन्दै त्यसो गर्ने भए संसदमै उही दिन हुन्छ या हुन्न भनेको भए भैहाल्थ्यो नी भनेरआक्रोश पोखेका छन् ।

‘देशका विरुद्ध अपराध भएको छ । ७ जना आफ्ना अर्को तिर ४ जना विपक्षी सांसद राखेर हुन्छ वा हुन्न भन्ने ? यो गर्न त संसदमा गठबन्धनको बहुमत छँदै थियो नि ? किन चाहियो समिति ?’ उनले नेपाली जनताले यस्तो छानबिनलाई अस्वीकार गर्नु पर्ने बताए ।
‘यो देशको विरुद्ध अपराध हो। देशको अर्थतन्त्रका विरुद्धको अपराध हो। एकाद घरानालाई पोस्नका लागि उद्योग र अर्थतन्त्रलाई धरासायी पार्ने, जानी-जानी अपराध गरिएको छ। यस्तो अपराध मामुली कुरा होइन। मलाई कसैले च्यालेन्ज गर्छ भने इन्टरनेशनल मुद्दा बनाऔं,’ ओलीको भनाई थियो।