अशोक राई एमालेमा प्रवेश गर्ने चर्चा चल्दा अर्का राईले छाडे जसपा

काठमाडौ ।जनता समाजवादी पार्टी (जसपा) मा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबिच कित्ता काटाकाट भएर विभाजन भए लगत्तै जसपाका नेता पूर्व मन्त्री हेमराज राईले पार्टी परित्याग गरेका छन्।

जसपा केन्द्रीय कार्यकारिणी सदस्य रहेका पुर्वमन्त्री राईले साउन ९ गते संघीय परिषद् अध्यक्ष अशोक राईलाई राजीनामा पत्र बुझाईसकेको जानकारीमा आएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेरै पार्टी छाडेको राईले जानकारी दिएका छन् ।जसपा संघीय अध्यक्ष अशोक राईले पनि जसपा छाड्ने खबरहरु आईरहेका बेला अशोक राईका दाहिने हातका रुपमा चिनिने हेमराजले पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण मानिएको छ।जसपाका संघीय अध्यक्ष सहित बामपंथी रुझानका नेताहरु एमालामा प्रबेश चर्चा चलिरहदा राई बाहिरिएका छन् ।उपेन्द्र यादव र बाबुराम भट्टराई बीच द्वन्द हुँदा अशोक राईहरु बाबुरामतिर थिए।उनिहरुकै सल्लाहमा सके पार्टी कब्जा गर्ने नभए अर्को पार्टी खोल्ने योजना भैरहदा अशोकहरुले बाबुलाई धोका दिएको बताइन्छ ।पार्टीको अन्तिम लडाईमा अशोकहरु उपेन्द्रतिर लहस्सिएका थिए।अशोकहरु पुरानै पार्टीतिर फर्कने चर्चा भने अझै सेलाएको छैन।

जसपा छाड्नुको कारण बारे राईले नीति, विचार र संगठन सञ्चालनमा कुरा नमिलेपछि पार्टी छोडेको बताएका छन् ।

जसपाका अन्य नेताहरू पनि पार्टी छोड्ने तयारीमा रहेको उनको भनाइ छ। उनी २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री थिए।

नेकपा (एमाले)मा रहेर लामो समय राजनीति गरेका उनी अशोक राईसँगै संघीय समाजवादी पार्टीमा लागेका थिए। राई फेरि एमाले प्रवेशको तयारीमा रहेका छन्। यद्यपि, यो विषयमा ठोस निर्णय भइनसकेको उनी बताउँछन्।

२०७८ माघ १२ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएर चुनाव लडेका थिए।

हेमराज राई गठबन्धनबाट उम्मेदवारी दिएका १९ मध्ये १८ उम्मेदवार राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपनि गठबन्धनबाट पराजित एक मात्र उम्मेदवार हुन् । प्रदेश १ बाट अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहबाट उम्मेदवारी दिएका राईलाई एमालेका सोनाम ग्याल्जेन शेर्पाले पराजित गरेका थिए।गठबन्धनले घात गरेको र पार्टी भित्रैबाट असहयोग भएको भन्दै त्यसबेलादेखी राई असन्तुष्ट रहदै आएका थिए।

अशोक राईसङ्गै एमाले छाडेर संघीय समाजबादीतिर लागेका हेमराज राई एमालेमै फर्कने तयारीमा रहेको बुझिएको छ।