महँगियो खाद्यान्न :अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको असर नेपाली उपभोक्ताको भान्सामा

काठमाडौ।दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूललगायतको मूल्य अस्वाभाविक वृद्धि भएको छ । आयातमा निर्भर अर्थतन्त्रका कारण अन्तर्राष्ट्रिय बजारमा परेको मूल्य शृंखलाको प्रभाव नेपाली उपभोक्ताको भान्सासम्म आइपुगेको हो । पछिल्लो एक महिनाको अवधिमा चामल प्रतिबोरा कम्तीमा एक सय रुपैयाँले वृद्धि भएको छ । नेपालीको प्रमुख खाद्य धान उत्पादनले मागको ४० प्रतिशत मात्रै धान्ने गरेको छ । बाँकी ६० प्रतिशत आयातमै निर्भर हुनुपरेको व्यवसायीको भनाइ छ । भारतबाट धान, चामल आयातमा प्रतिकूल प्रभाव परेका कारण अहिले मूल्यमा चाप परेको दाल, चामल तेल उद्योग संघका अध्यक्ष सुबोध गुप्ताले जानकारी दिए । उनका अनुसार भारतले धान, चामल निर्यातमा नेपाललाई पहिलो प्राथमिकता दिने गरेको थियो । तर, दुई महिनादेखि बंगलादेशमा भारतबाट धान, चामल निर्यात उल्लेख्य हुँदा नेपाली व्यवसायीले हैरानी खेप्न थालेको उनले बताए ।

‘धान, चामल शतप्रतिशत भारतबाटै आयात हुन्छ,’ गुप्ताले भने, ‘भारतले अहिले एक नम्बरमा बंगलादेशलाई राखेको छ, त्यसपछि मात्रै हामीलाई धान, चामल निर्यातका लागि सहजीकरण गरिरहेको छ ।’ उनका अनुसार आयातमा भएको कठिनाइले मूल्यमा प्रभाव परेको हो । चामलको मूल्यमा वेलावेलामा हुने यस्तो अस्वाभाविक वृद्धिलाई नियन्त्रण गर्न कोटा तोकिनुपर्ने उनको सुझाव छ । ‘भारतबाट धान, चामल ल्याउन कोटा प्रणाली तोकौँ । व्यवसायीको तवरबाट त हामीले प्रस्ताव राखिसकेका छौँ’ उनले भने, ‘सरकारीस्तरबाटै यसमा पहल भयो भने सार्थकता मिल्छ र यस किसिमको समस्या दिगो रूपमै हल हुन्छ ।’ दाल, गेडागुडीलगायतको मूल्यवृद्धिमा भने अन्तर्राष्ट्रिय बजार मूल्य प्रमुख कारण रहेको उनले बताए ।

रुस–युक्रेन जारी द्वन्द्वले विश्व अर्थतन्त्रसँगै नेपालमा पनि महँगी बढाएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार जेठसम्म मूल्यवृद्धिदर ८.५६ प्रतिशत पुगेको छ । विश्वभरमै मूल्यवृद्धिमा परेको चाप नेपालमा समेत देखिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककै एक सर्वेक्षणले असोजसम्म मूल्यवृद्धि १३ दशमलव ५ प्रतिशत हुने देखाएको छ । यद्यपि, मूल्यवृद्धि नियन्त्रणमा भने सरकार उदासीन छ । अन्तर्राष्ट्रिय बजारलाई दोष देखाएर मुलुकको अनुगमन संयन्त्र पन्छिदै आएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको असर नेपाली उपभोक्ताको भान्सामा देखिएको र आफूहरू नियन्त्रणबाहिर रहेको बताउँछन् ।

 खानेतेल कार्टुनमै ६ सयसम्म घट्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा पामोलिनको मूल्यमा गिरावट आएपछि बढ्दो महँगीबीच खानेतेलको मूल्य घटेर नेपाली उपभोक्तालाई केही राहत भएको छ । व्यवसायीका अनुसार ३१ सय ५० रुपैयाँ प्रतिकार्टुनसम्म पुगेको सनफ्लावर तेलको मूल्य अहिले प्रतिकार्टुन ६ सय रुपैयाँसम्म घटेर औसतमा २५ सय ५० रुपैयाँ प्रतिकार्टुनमा आइपुगेको छ । खुद्रा व्यापार संघका अनुसार जेठ १५ अघि भुटेको तोरीको तेल चार सय १० रुपैयाँ, काँचो तोरीको तेल तीन सय ७५ रुपैयाँ, सनफ्लावर तेल तीन सय ५० रुपैयाँ र भटमास तेल तीन सय २० रुपैयाँ प्रतिलिटरसम्म पुगेको थियो ।

हाल भुटेको तोरीको तेल १० रुपैयाँ सस्तिएर चार सय, काँचो तोरीको तेल २५ रुपैयाँ सस्तिएर तीन सय ५०, सनफ्लावर तेल ४५ रुपैयाँ सस्तिएर तीन सय पाँच रुपैयाँ र भटमासको तेल ३५ रुपैयाँ सस्तिएर दुई सय ८५ रुपैयाँ प्रतिलिटर कायम भएको संघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारसँगै भारतीय बजारमा कच्चा खानेतेलको मूल्य २८ प्रतिशतभन्दा बढीले गिरावट आएपछि नेपाली बजारमा पनि खानेतेलको मूल्य घटेको छ । भारतले ६० पतिशतभन्दा बढी कच्चा तेल आयात गर्छ । आर्थिक वर्ष ०२२–२३ र ०२३–२४ का लागि भारत सरकारले वार्षिक २० लाख टनसम्म सूर्यमुखी र सोयाबिनको आयातमा शुल्क नलगाउने घोषणा गरेको छ ।

कच्चा पाम तेलको मूल्य एक वर्षअघिको बिन्दुमा आइपुगेको छ । दुई प्रमुख राष्ट्र इन्डोनेसिया र मलेसियाले पामोलिनको उत्पादन वृद्धि गरेको र विश्वका ठूला सञ्चयकर्ताले भण्डारणका लागि कम परिमाण माग गरेको हुँदा अन्तर्राष्ट्रिय बजारमै कच्चा खानेतेलको मूल्य घट्न पुगेको छ । भारतले आयातमा कर हटाई भारतीय मूल्य नै सस्तो पर्न जाँदा भारतबाट आयात गर्ने नेपाली उद्योगीलाई सस्तो पर्न गई नेपालमा पनि मूल्य घटेको हो ।

 वर्षा लागेपछि तरकारीमा मूल्यवृद्धि
हरियो तरकारीको मूल्य पनि बढ्न थालेको छ । वर्षा लागेपछि ढुवानीमा अवरोध भएको, मौसमी उत्पादन खासै नभएकोलगायतका कारण मूल्यमा चाप परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । २५ असारमा ५५ रुपैयाँ प्रतिकिलो रहेको अदुवा ७५ पुगेको छ । त्यस्तै, कागती एक सय ३५ रुपैयाँबाट बढेर एक सय ६२ रुपैयाँ, भिन्डी ३५ रुपैयाँबाट बढेर ४५ रुपैयाँ, हरियो धनियाँ ६४ रुपैयाँबाट एक सय ९० रुपैयाँ, गोलभेडा ५२ रुपैयाँबाट ७५ रुपैयाँ प्रतिकिलो पुगेको छ । त्यस्तै, केरा एक सय ४६ बाट एक सय ६५ रुपैयाँ प्रतिकिलो पुगेको छ । कालीमाटी बजारका प्रवक्ता विनय श्रेष्ठले वर्षा लागेसँगै तरकारीको भाउ बढ्ने विगतकै प्रवृत्ति रहेको बताए । (नयाँ पत्रीकाबाट)