काठमाडौ । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ आज पनि भएन । सर्वोच्च अदालतले महान्यायधिवक्ता कार्यालयको आग्रहमा सुनुवाइ स्थगित गरेको जानकारी दिएको छ ।
सर्वोच्चले आलमको मुद्दामा शुक्रबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकेको थियो । आलममाथि ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई जिउदै इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ । उनीमाथि विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको हो ।
आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो । त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै ०७७ असोज १२ मा सर्वोच्च पुगेका हुन् । आलमको मुद्दामा पटक–पटक पेसी चढे पनि सुनुवाइ भने रोकिँदै आएको छ ।