चितवनमा महाधिवेशन : प्रचण्डलाई पर्न सक्छ यस्तो धक्का

Telecom

काठमाडौ । मंसिर १० देखि १२ गतेसम्म नेकपा एमालेले दशौं महाधिवेशन चितवनमा गर्दैछ । महाधिवेशन चितवनमा गर्ने निर्णय एमालेले गरेसँगै नेपाली राजनीतिक वृत्तमा एक खालको हलचल उत्पन्न भएको छ । विशेषत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को आधारइलाका मानिएको चितवनमै महाधिवेशन गर्दा एमालेले राजनीतक रुपमा फाइदा हुने देखेकाले यस्तो निर्णय गर्न पुगेको राजनीतिक विश्लेषकहरुले अड्कल काटेका छन् ।

यसअघि एमालेको लालकिल्लाको रुपमा रहेको लुम्विनीको सुन्दर नगरी वुटवलमा महाधिवेशन गर्ने भने पनि एकाएक चितवनमा गर्ने निर्णय एमालेको हिजो बसेको स्थायी कमिटी वैठकले गरेको थियो । अझ त्यतिमात्र नभएर मूल व्यवस्थापन समितिको संयोजकमा रामबहादुर थापा बादललाई नै  बनाएर जानुले एमालेभित्र माओवादीबाट आएकाहरुलाई पनि स्थान दिन सकिने मान्यतालाई पार्टीभित्र र बाहिर स्थापित गर्न एमालेले चाहेको कुरा देख्न सकिन्छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले चितवनमै महाधिवेशन गर्दा पार्टीलाई निकै फाइदा हुने देखिएकाले त्यस्तो निर्णय गरेको अड्कल काट्न जोकोहीलाई गाह्रो नपर्ला । प्रचण्डको आधारक्षेत्रमा गएर महाधिवेशन गर्दा र माओवादीबाटै आएका बादललाई मूल समितिको संयोजक बनाउदा राजनैतिक रुपमा त्यसले छुट्टै छाप पर्ने देख्न सकिन्छ । केही समयअघि बादलले चितवनमै पुगेर पार्टीले टिकट दिए प्रचण्डसँगै चुनाव लड्ने उद्घोष गरिसकेका छन् । यस्तो अवस्थामा ओलीले त्यसलाई थप बल पुग्नेगरी र प्रचण्डलाई झस्काउनेगरी निर्णय गरेको पनि साइसुइ चल्न थालेको छ ।

यसअघि प्रचण्डको शक्तिकै कारण उनकी छोरी रेणु दाहालले भरतपुर महानगरपालिकाको मेयर पद हात पार्न सफल भएकी थिईन । यस्तो अवस्थामा प्रचण्डलाई धक्का दिन सक्नेगरी महाधिवेशन स्थान नै एकाएक परिवर्तन गरिएको चर्चा पनि चलेको हो । यसले प्रचण्डलाई राजनीतिक रुपमा र नैतिक रुपमा निकै दबाब पर्न जाने एमालेको बुझाई रहेको देख्न सकिन्छ ।

त्यसमाथि एमालेले यसअघिकै संयुक्त रुपमा रहेको नेकपाकै निरन्तरता रहेको सन्देश पनि यस महाधिवेशनमार्फत देखाउन चाहेको छ । अहिले पनि यसअघिकै नेकपामा रहेका नेता तथा कार्यकर्ता अहिले पनि ओली नेतृत्वको मूल पार्टीमा रहेका छन् । उनीहरुले अहिले पनि ओलीकै लिगेसीलाई आत्मसाथ गर्दै आईरहेका छन् । यस्तो अवस्थामा ओलीले पनि पार्टी अझै पनि सबल र एकतृत रहेको सन्देश प्रवाह गर्न चाहिरहेका छन् । यही चाहनालाई पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि साथ दिएका छन् ।

अझ माओवादी केन्द्रबाट बिद्रोह गरेर आएका बादल लगायत नेता तथा कार्यकर्ताहरुले पनि ओलीको यो कदमलाई पूर्ण रुपमा सहयोग गरिरहेका छन् । पार्टीबाट अलग भएर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी निर्माण गरेका माधव नेपाल समूहलाई उनीहरु नभएपनि पार्टी सबल र सक्षम रहेको कुरा देखाउने पनि ओलीको चाहना छ । यही विभिन्न चाहनालाई मध्यनजर गर्दै एमालेको महाधिवेशन चितवनमा गर्न लागेको हो भन्दा अन्यथा नहोला । यसले प्रचण्ड लगायतका नेतालाई कस्तो असर पर्ला त्यो चाही हेर्न बाँकी छ ।

adb bank long