जनकपुरधाम । जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहालाई दुव्र्यवहार गरेको आरोपमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
राउतका कार्यकर्ताले संस्थानका निमित्त प्रमुख कुशवाहालाई अर्धनग्न बनाएर नगर घुमाएका थिए । अबिरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले निमित प्रमुख कुशवाहालाई अर्धनग्न गरेर नगर घुमाएका हुन् ।
जनकपुरको रामानन्दचोकमा रहेको खनेपानी संस्थानको कार्यालयमा भाटासहित दर्जनौंको संख्यामा पुगेका जनमत पार्टीका नेता कार्यकर्ताहरुले कुशवाहालाई कार्यकक्षबाट तानेर कुटपीट समेत गरेका थिए ।
उनीहरुले निमित्त प्रमुख कुशवाहाहको कपडा च्यातेर अर्धनग्न बनाइ नालामा रहेको हिलो दलेर जनकपुर घुमाएका छन् । जनमत पार्टीका एक कार्यकर्ताले निमित प्रमुख कुशवाहालाई जनकपुरधाम उपमहानगरपालिका ८ बल्वाटोल स्थित रहेको सडक निर्माणमा ढल निकासको समस्याका लागि पटक पटक आग्रह गर्दा समेत कुनै वास्ता नगरेपछि यस्तो कारबाही गरिएको बताए ।