
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भुलुनकी पत्नी २८ वर्षीया रजिना भोलुन, साढुभाइ ज्ञानकुमार सिन्तान, साली सुनिता सिन्तान र गोदावरी घर भएकी लक्ष्मी ब्लोनलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । भुलुनको हत्यापछि भाग्दा भिरबाट खसेर ज्यान गुमाएको अवस्थामा गोदावरी नगरपालिका–११ घर भएका २८ वर्षीय मनोज मगर भनिने मनोज सार्कीको शव फेला परेको छ । असोज १३ मा राजकुमारको शव फेला परेको ठाउँबाट केही पर भिरबाट ३ सय मिटर तल खसेको अवस्थामा मनोजको शव भेटिएको एसएसपी बज्राचार्यले जानकारी दिइन् ।
भुलुनलाई खुकुरी हानेर भाग्दा भिरबाट लडेर मनोजको मृत्यु भएको प्रहरीको अनुसन्धानमा देखिएको एसएसपी बज्राचार्यले बताइन् । राजकुमारको हत्या पत्नी रजिना भोलुनको योजनामा भएको खुल्न आएको प्रहरीले बताएको छ ।
रजिनाले आफ्ना बहिनी–ज्वाईं ज्ञानकुमार सिन्तान, बहिनी सुनिता र मृतककी साथी ३० वर्षीया लक्ष्मी ब्लोन भनिने म्याक्सीमाया भोलनको सल्लाहमा श्रीमानको हत्या गर्न लगाएकी थिइन् । उनीहरुले मनोज सार्कीलाई हत्याको लागि सुपारी दिएको अनुसन्धानबाट खुल्न आएको छ ।
हत्याअघि मनोजलाई पाँच हजार र हत्यापछि ५० हजार दिने सहमति अरोपीहरुले गरेको अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ । मनोजले खुकुरीले हानेर भुलुनको हत्या गरेको खुलेको छ । ‘राजकुमारले घरेलु हिंसा गरेका कारण रजिनाले हत्याको योजना बनाएको देखिएको छ’ एसएसपी बज्रचार्यले सुनाइन्, ‘मनोज र मृतककी साथी लक्ष्मी एउटै गार्मेन्टमा काम गर्दै आएका थिए ।’
राजकुमारको हत्या भएको दुई दिनपछि हत्याका मुख्य आरोपी मनोज सार्की पनि मृत भेटिएका थिए । राजकुमारको हत्या अनुसन्धान गर्दा तालिमप्राप्त कुकुरले हत्यामा संलग्न व्यक्ति घटनास्थल वरपर नै रहेको संकेत गरेको जनाइएको छ ।