काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तेस्रो पटक मन्त्रिपरिषद पुनर्गठन गर्दा एक जना भने गैर सांसद पनि मन्त्री बनेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट बाँकेका पुराना नेपाली कांग्रेसका नेता गजेन्द्र हमाल पनि मन्त्रिपरिषदमा अटाएका छन् । उनी राणाका आफन्तसमेत हुन् ।
केही दिन पहिले राणाले दुई जना मन्त्रीको कोटा मागेको समाचारहरु सार्वजनिक भएको थियो । राणाले दिपक तिमल्सिना र हमाललाई मन्त्री बनाउन खोजेको सार्वजनिक भएको थियो । समाचार सार्वजनिक भएपछि तिमल्सिनापछि हटेका थिए भने हमाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन् ।
को हुन् गजेन्द्र हमाल ?
नेपाली कांग्रेसमा लामो समय राजनीति गरेपनि उचित ठाउँ नपाएका हमाल अब भने मन्त्री बन्न सफल भएका छन् । हमाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्न सफल भएका हुन् ।
पछिल्लो समय उनी पार्टीको राजनीतिमा सबै अवसर गुमेपछि सामाजिक तथा धार्मिक काममा थिए । हमाललाई कांग्रेसको वर्तमान नेतृत्वले मुल्यांकन स्वरुप मन्त्री बनाएको हो ।
हमाल बाँकेका पुराना कांग्रेस नेता मध्येका एक हुन । नेपाली कांग्रेस बाँकेका सभापति समेत भइसकेका हमाल सादगी र सन्त नेताका रुपमा चिनिन्छन् । पार्टीको कुनै सक्रिय पदमा नरहेपनि उनको योगदान नेपाली कांग्रेसका लागि अविष्मरणीय रहेको पनि नेता, कार्यकर्ताहरु बताउँछन् । प्रधानमन्त्री देउवाले बिस्तार गरेको मन्त्रि परिषदमा उनी नियुक्त भएका हुन् ।
हमाल र प्रधानन्यायाधीश राणाबीचको ज्वाई(जेठानको साइनो पर्छ । आफु मन्त्री बन्नमा पार्टी बाहिरभन्दा भित्रैबाट सहयोग भएको हमालको बताउँछन् । ‘म मन्त्री बन्नलाई बाहिरका मान्छेको सहयोग किन आवश्यक पर्यो र रु’ शुक्रबार उनले भने ‘म राजनीति परिवारमा जन्मेको, हुर्केको मान्छे हुँ, नेपाली कांग्रेसको संगठन विस्तारमा मेरो योगदान कति छ, त्यो त पार्टी पनि मुल्यांकन गरेको होला नि।’ कांग्रेसको संगठन विस्तारमा उनका दाई स्वर्गिय रनेन्द्रबहादुर हमाल ‘भाइराजा’को योगदान नेपाली कांग्रेस वृत्तमा अविष्मरणीय छ ।
हमाल २०१० फागुन ८ मा जन्मेका हुन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हमाल २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्ष हुँदा नेविसंघ बाँकेको जिल्ला अध्यक्ष भएका थिए ।
२०४० सालमा स्थानीय त्रिभुवन चोकमा तत्कालिन राजा र रानीको फोटो च्यातेपछि उनको चर्चा चुलिएको थियो । वि।सं। २०३९ र २०४४ सालमा वडा अध्यक्ष बनिसकेका हमाल २०५३ सालमा कांग्रेस विभाजन हुँदा बाँके कांग्रेसको सभापति बनेका थिए । नेपाली काग्रेसका नेता सुशिल कोइरालासँगको टकरावका कारण उनी देउवातिर लागेका थिए ।
पार्टीले उनलाई पहिलो संविधान सभा निर्वाचन २०६४ मा टिकट दियो । बाँके क्षेत्र नम्बर १ बाट चुनाव लडेका उनी नेकपा माओबादीका नेता तिलक परियारसँग पराजित भएका थिए । त्यसयता उनी पार्टीको गतिविधीमा कमै मात्रामा देखिन्थ्ये । मुलुकमा हिन्दुराज्य स्थापना गर्नुपर्छ भन्दै उनले अभियान नै थालेका थिए । केही वर्षअघि उनले नेपालमा हिन्दुराज्य स्थापनाका लागि दवाव स्वरुप भारतबाट ठुलो संख्यामा सन्त, महन्तलाई नेपालगन्जमा जमघट पनि गराएका थिए ।