नेकपा (एस) को आज (बिहीबार) बसेको स्थायी कमिटी बैठकपछि सांसद विरोध खतिवडाले भने, ‘स्वास्थ्य मन्त्रालय हामीतिर आएको छ । पार्टीले चार मन्त्री र एक राज्यमन्त्री पठाउने भएको छ ।’ यसअघि स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा परेको थियो । मन्त्रीहरूको टुंगो भने शुक्रबार बस्ने सचिवालय बैठकले टुंगो लगाउने खतिवडाले जानकारी दिए ।
‘दुई मुख्यमन्त्री लिने गरी चार मन्त्रालय लिएर सरकारमा सहभागी हुने भयौं’, आजै उपमहासचिवमा नियुक्त भएका खतिवडाले भने, ‘भोलि बेलुका वा पर्सी बिहानसम्म निर्णय गर्छौ । त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ उनकाअनुसार नेकपा (एस) ले सहरी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम मन्त्रालय पाएको छ ।
एकीकृत समाजवादीले थप्यो चार पदाधिकारी, उपमहासचिवमा खतिवडा
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले एक उपमहासचिव र तीन सचिवसहित चार पदाधिकारी थप गरेको छ । समाजवादीको बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीमा चार पदाधिकारी थप गर्ने निर्णय लिएको हो ।
बैठकले एक जना उपमहासचिवमा पार्टीका प्रवक्ता जगन्नाथ खतिडालाई मनोनीत गरेको छ । त्यसैगरी तीन सचिवमा भागवत विश्वासी, गरिमा साह र जीवनराम श्रेष्ठलाई थप गरेको छ ।
बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वामा पाँच सदस्यीय केन्द्रीय कार्यालय पनि बनाएको छ । जसमा विजय पौडेल, प्रकाश ज्वाला र खतिवडासहितका नेताहरु रहेका छन् ।
नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ । पार्टीको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसका लागि कानुनी प्रक्रिया छिट्टै टुंग्याउने उनले बताए ।