सिन्धुपाल्चोक । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले कांग्रेस सधैँ विपत्तिमा जनताको साथमा रहने बताएका छन् । मङ्गलबार नेपाली कांग्रेसद्वारा मेलम्चीका १५० घर परिवारलाई राहत वितरण गर्दै उनले सो कुरा बताएका हन् ।
विष्णुविक्रम थापालगायतले मेलम्चीका १५० घरपरिवारलाई राहत वितरण गरेका हुन । बाढीले गर्दा पीडित बनेका मेलम्चीवासीलाई दशैँका लागि मासु, तेल, दाल, मसलालगायतका अतिआवश्यक सामग्री वितरण गरिएको हो । गत असारमा गएको बाढीले मेलम्चीवासीलाई ठूलो असर गरेको थियो । नजिकिँदै गरेको महान् चाड दशैँमा के खाने र के लगाउने भन्दै चिन्तामा रहेका बाढी प्रभावितका साथमा कांग्रेस रहेको बस्नेतले बताए । साथै रु एक करोड २० लाखमा हेलम्बुमा ३० घर बनाउनेसमेत घोषणा गरेको कांग्रेका युवानेता युधिर पौडेलले बताए ।
इन्द्रावती गाउँपालिकाद्वारा बाढी प्रभावित पाँचपोखरीलाई सहयोग
इन्द्रावती गाउँपालिकाले बाढी प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई सहयोग गरेको छ । असार १ गतेको याङ्री, लार्के तथा इन्द्रावती नदीमा आएको बाढी तथा पहिराले गाउँपालिकाको विभिन्न बस्ती, सडक, खानेपानी, सिँचाइ, झोलुङ्ले पुललगायत मानवीय क्षतिसम्म पुगेको थियो । पालिकालाई इन्द्रावतीले रु तीन लाख सहयोग गरेको हो ।
छिमेकी पालिकामा विपद् पर्दा थोरै भए पनि सहयोग गर्न पाएकामा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले खुसी व्यक्त गरे । सहयोगप्रति पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आभार व्यक्त गरे ।