काठमाडौं । एउटा महिलालाई कोठामा बन्धक बनाइ बलात्कार गरेको आरोपमा काठमाडौंको बानेश्वरबाट श्रीमान्–श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका–१० बानेश्वरको कात्यायनी चोकमा डेरा गरी बस्ने मोरङको विराटनगर महानगरपालिका–१७ घर भएका ३९ वर्षीय निरज शर्मा र उनकी श्रीमती ३८ वर्षीय नितु शर्मालाई पक्राउ गरेको हो ।
उनीहरुले एकजना महिलालाई आफ्नो कोठामा बन्धक बनाएर राखेको र बन्धक बनाएका बेला निरजले महिलामाथि बलात्कार समेत गरेका भनेर उजुरी परेको प्रहरीको भनाई छ ।
महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले महिलालाई कोठामा बन्धक बनाइ बलात्कार गरेको भन्ने सूचनाका आधारमा दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।