काठमाडौ । सरकारले आजदेखि काठमाडौं उपत्यकाबाट दशैंमा घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुलाएको छ । हिजो सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । जसअनुसार आजबाट टिकट बुकिङ खुला भएको हो ।
यातायात व्यवस्था विभागले अग्रिम टिकट अनलाइन वा मोबाइल बैकिङबाट काट्न आग्रह गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार मोबाइलबाट कनेक्ट आईपीएस, खल्ती, ईसेवा जस्ता डिजिटल विधिबाट टिकट खरिद गर्न सकिने छ ।
‘अनलाइन टिकट काट्ने यात्रुलाई एक लिटरको एक बोतल पानीको व्यवस्था मिलाइने छ । दशैंको समयमा बिचौलियाहरू बीचमा आउने सम्भावना रहन्छ । सम्बन्धित टिकट काउन्टरको पोसाक लगाएका र परिचयपत्र भएका मानिसहरूबाट मात्रै टिकट काट्नु होला’, महानिर्देशक घिमिरेले भने ।
विभागका अनुसार कोरोना महामारी र स्वास्थ्य मापद्धण्डलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट बस छुट्ने छन् । पश्चिममा चल्ने सवारीको टिकट नयाँ बसपार्कबाट काट्न सकिने छ । पूर्वमा चल्ने सवारी साधनका लागि कोटेश्वर, चाबहिलबाट टिकट काट्न सकिने छ ।