काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज पनि बस्दैछ । वैठकमा विधान महाधिवेशनको प्रस्ताव पारित गर्ने तयारी छ ।
ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा गत शुक्रवारदेखि जारी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठानिक र विधान मस्यौदा प्रतिवेदनमाथि समूहगत रुपमा आएका धारणाको जवाफपछि पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली, साङ्गठानिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यक्रम रहेको छ । यसअघि हिजोको बैठकमा १० समूहमा विभाजित टोली नेताले राजनीतिक, साङ्गठानिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी आ–आफ्नो समूहबाट सुझाव प्रस्तुत गरेका छन् ।
एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले टोली नेताले कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल मात्र रहन पाउने र ७० वर्षे उमेरहदको व्यवस्था कार्यान्वयन गर्नुपर्ने, युवापुस्ताको प्रतिनिधित्व बढाउनुपर्नेलगायतका सुझाव आएको बताएका छन् ।
त्यस्तै बैठकमा पार्टी एकतादेखि विभाजनसम्मको समीक्षा गर्नुपर्ने माग समेत उठेको छ । सुझाव सकिएपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रतिवेदन पारितपछि आउँदो १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा पेस हुनेछन् ।