निधि, शशांक र प्रकाशमानबीच यसरी जुट्यो सहमति

Telecom

काठमाडौ । नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच छलफल भएसँगै नेपाली कांग्रेसको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । उनीहरुले पटक पटक आगामी रणनीतिको विषयमा छलफललाई निरन्तरता दिईरहेका छन् । यसअघि नेतात्रयले ७ असारमा बानेश्वरस्थित निधि निवासमा, ११ असारमा महाराजगन्जस्थित कोइराला निवास र १५ असारमा चाक्सीबारीस्थित सिंह निवासमा लन्चसहितको मिटिङ गरेका थिए ।

चाक्सीबारीको लञ्च मिटिङमा असार १८ गते शशांक निवास टोखामा केन्द्रीय सदस्यसँग छलफल गर्ने सहमति भएको थियो । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतात्रयले केन्द्रीय सदस्यसँग गर्न खोजेको छलफलप्रति आपत्ति जनाएपछि निधि, कोइराला र सिंह बीचको छलफलले ब्रेक लगाएको थियो ।

हिजो महामन्त्री शशांक कोइराला निवासमा शुक्रबार साँझ ६ बजेदेखि ८ बजेसम्म फेरि नेतात्रय बीच छलफल भएको छ । मुख्यत गरी १४ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा उनीहरुको छलफल भएको श्रोतले बतायो । ​

निर्धारित मितिमै महाधिवेशन

आगामी मंसिर ९ गतेदेखि १३ गत १४ औं महाधिवेशन गर्ने नेतात्रय एकमत भएका छन् । १३ जिल्लाको क्रियाशील सदस्यता छिटो टुंगो लगाएर महाधिवेशन प्रक्रिया अगाडि बढाउने विषयमा उनीहरुको छलफल भएको थियो ।

क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी रहेका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलालीमा वडा अधिवेशन नै सरु हुन सकेको छैन । उक्त जिल्लामा दसैँअघि वडा अधिवेशन गर्नुपर्नेमा नेतात्रयको जोड छ । वडा अधिवेशन सकिएका ६४ जिल्लामा ९ असोजदेखि पालिका तहको अधिवेशन सुरु हुनेछ ।

साथै असोज १८ भित्रै २१ जिल्लामा अधिवेशन सम्पन्न गर्ने काँग्रेसको तयारी छ । १२ असोजमा प्रदेश निर्वाचन सभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका ५६ जिल्लामा लागू नहुने भएको छ ।

योसँगै कात्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन पनि केही दिन सर्ने देखिएको छ । काँग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

 

adb bank long