काठमाडौ । नेकपा एमालेबाट टुक्रिएर माधव कुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टीको विषयमा संभवत आजै सर्बोच्च अदालतले निर्णय गर्ने भएको छ ।
नेकपा एमालेले पार्टी बिभाजन गरेर गएका १४ सांसदलाई कारबाहीको माग गर्दै सर्बोच्चमा रिट दायर गरेको थियो । जसको हिजैबाट सर्बोच्चमा बहस चलिरहेको छ ।
न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइले आज पनि निरन्तरता पाएको हो । आज माधव नेपाल पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् भने ओली पक्षका अधिवक्ताले जवाफी बहस गर्ने छन् ।
आफ्नो पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई मान्यता दिएर निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गरेको तथा सभामुख अग्नि सापकोटाले आफूहरूले कारबाही गरेको पत्रअनुसार ती १४ सांसदलाई सांसद पदबाट नहटाएको भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन् ।
आफ्नै अध्यक्ष (ओली) ले प्रतिनिधि सभामा विश्वासको मत लिँदा मत नदिएको आरोपमा पूर्व प्रधानमन्त्री ओलीले माधव नेपालसहित तत्कालीन एमाले सांसद १४ जनालाई पार्टीबाट कारबाही गराएका थिए । सोअनुसार सभामुखले ती १४ सांसदलाई पदबाट हटाएको सूचना टाँस गर्नुपर्ने तथा तिनको हस्ताक्षरलाई अमान्य गरी निर्वाचन आयोगले पार्टी दर्ता खारेज गर्नुपर्ने माग ओलीद्वारा दर्ता रिट निवेदनमा गरिएको छ ।