गुल्मी । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले अब एमाले पार्टी झन शसक्त रुपमा उठ्ने बताएका छन् । आज गुल्मी जिल्लामा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन ।उनले पटक पटक उमाले सिध्याउन खोजे पनि अहिलेसम्म कसैले सक्काउन नसकेको पनि बताए ।
अर्को प्रसंगमा नेता ज्ञवालीले माधवकुमार नेपालले विपक्षीहरुसँग गठबन्धन गरेर एमाले कार्यकर्ताहरूलाई धोका दिएको आरोप पनि लगाए । नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालले एमालेविरुद्ध घेराबन्दी गरेको उनले बताए ।
नेकपा एमाले जिल्ला कमिटी गुल्मीले बुधबार सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले प्रवक्ता समेत रहेका ज्ञवालीले अहिलेको घेराबन्दी अस्थायी भएकाले सूर्य उदाएसँगै गठबन्धनको कुहिरो हराएर जाने टिप्पणी गरे । एमालेले देशलाई एकढिक्का बनाएर लैजान खोजे पनि पाँच दल मिलेर असफल बनाउने प्रयास गरेको उनको आरोप छ ।
पार्टीभित्र अन्तरविरोध जहिले पनि हुने तर अन्तरविरोध र विभाजन अलग विषय भएको उनको तर्क छ । माधव नेपालले दर्ता गरेको नयाँ दल सांगठनिक हिसाबले पनि गलत रहेको ज्ञवालीले दाबी गरे ।
पार्टी विभाजन अघि फरक–फरक धारमा रहेका एमालेका सचिवद्वय ज्ञवाली र गोकर्ण विष्टले गुल्मीमा एउटै मञ्चबाट सम्बोधन गरेर पार्टीमा कुनै समस्या नरहेको बताएका थिए । यसपछि उत्साहित कार्यकर्ताहरुले उनीहरुलाई तालीले स्वागत गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई अविर तथा खाद ओढाएर स्वागत गरिएको थियो ।