काठमाडौ । सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने, संसद् निरन्तर चलाउने र समसायिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुन लागेको स्रोतको भनाइ छ ।
त्यसैगरी बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का विषयमा समेत छलफल हुने जनाइएको छ ।
यसअघि गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले दलका शीर्ष नेताहरुसँग पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीको नाम मागेका थिए । आजको बैठकमा गठबन्धनका दलबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम आएमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । तर, अहिलेसम्म पनि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा ४ मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।