चार दिने नेपाल भ्रमणको क्रममा अमेरिकी उच्च टोलीले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउने प्रयास गर्नेछ । उपाध्यक्ष सुमारको टोली आज विहान ९ः१० बजे कतार हुँदै काठमाडौं आउन लागेको हो । चार वर्षअघि नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बीच मिलेनियम च्यालेञ्ज सम्झौतामा हस्ताक्षर भएको थियो ।
उक्त सम्झौता अनुसार नेपालको संसदबाट यो सहायता अनुमोदन हुन भने बाँकी छ । सडक सञ्जाल र अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको लागि अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने भनिएको ५० करोड डलर सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा विवाद बढिरहेको छ ।
सुमारले हस्ताक्षर गरेको जवाफी पत्र सार्वजनिक भएको भोलिपल्ट उनी एमसीसीबारे छलफल गर्न आउन लागेकी हुन् । नेपाल सरकारले हालै सो परियोजनालाई सोधेका सबै प्रश्नको जवाफ दिँदै सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर जवाफ दिएकी छन् । उनले मन्त्री शर्मालाई पत्र लेख्दै एमसीसीभित्र कुनै लुकेको एजेण्डा नभएको स्पष्ट गर्दै यसबारेमा नेपालमा गलत हल्ला मात्र फैलाइएको बताएकी छन् । (एमसीसी) ले यस आयोजनामा कुनै सैन्य गठबन्धनको कुरा नरहेको स्पष्ट गरेको छ ।