किन भयो नख्खु कारागारभित्र झडप ?

Telecom

काठमाडौ । ललितपुर स्थित नख्खु कारागारभित्र झडप भएको छ । कारागारभित्र रहेको होटलको मूल्य सूची बढाएको बिषयमा ललितपुरको नख्खुमा रहेको कारागारमा झडप भएको छ । नख्खु कारागारका नाइके र कैदीबन्दीबीच झगडाले उग्ररूप लिएपछि कुटाकुटसमेत भएको थियो ।

कारागारभित्रको होटलको मूल्यसूची अत्यधिक बढाइएको, सेवा–सुविधामा पनि मनोमानी गरेको र राम्रो व्यवहार नगरेको भन्दै कैदीहरूले आक्रोश पोखेका थिए । केहीबेर कैदी र नाइकेहरूबीच भनाभन भएर कुटाकुटसमेत भएको खबर पाउनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट ४० जना प्रहरीको टोली कारागार पठाइएको प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए । कारागारको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले कारागारभित्रको विवाद मिलेको जानकारी दिए । उनले जेलभित्रको आन्तरिक समस्या भएकाले अहिले बन्दीहरुको गुनासो सुन्ने काम भइरहेको जानकारी दिए । उनका अनुसार कैदीहरूले आफ्नो गुनासाहरू लिखितरूपमा जेलर चिरञ्जीवी गिरीलाई बुझाएका छन् । उक्त निवेदनमा रासनमा घोटाला गरेको, टेलिफोन सुविधा सहज नबनाएको, सरकारले दिने अन्य सुविधामा पनि आफ्नो मनोमानी गरिएको उल्लेख छ ।

महानिर्देशक दाहालले निवेदनमा उठाइएका समस्याहरूलाई समाधान गरी आगामी दिनमा यस्तो स्थिति आउन नदिन पहलकदमी गर्नु भनेर कारागार प्रशासनलाई निर्देशन दिएको जानकारी दिए। हाल नख्खु कारागारमा करिब १४ सय जना कैदी रहेका छन् ।

 

adb bank long