काठमाडौ । नेकपा एमालेको पार्टी एकताका लागि बनेको कार्यादल १० बुँदे सहमति पत्र तयार गरेपछि बिघटित भएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट बनेको उक्त कार्यदलका सदस्यहरु फेरी सकृय हुन थालेका छन् । आइतबार बिहानैबाट विघटित कार्यदलका नेताहरुबीच पार्टी एकताबारे छलफल भइरहेको छ । गोप्य रुपमा भएको छलफलमा पार्टी एकताको विन्दु पहिल्याउने प्रयास भइरहेको स्रोतले जानकारी दिएको छ ।
‘पार्टी एकताबारे विभिन्न ढंगले कुराकानी भइरहेको छ’, कार्यदलका एक नेताले भने, ‘आज बेलुकासम्म कुनै परिणाम आउछ कि भन्ने छ ।’ गत शुक्रबार सम्पन्न माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले १० बुँदे सहमति एकताको आधार मान्न सकिने भए पनि त्यो नै पर्याप्त नभएको निश्कर्ष निकालेको थियो ।
साथै एकता प्रक्रिया चलिरहेका बेला अध्यक्ष ओली पक्षले अघि सारेका सांगठनिक गतिविधिले एकताको वातावरण बिथोलिने भन्दै त्यस्ता गतिविधि रोक्न ध्यानाकर्षण गराएको थियो । तर सोही दिन एमाले प्रवक्ता तथा ओली पक्षीय नेता प्रदीप ज्ञवालीले एकताका नाममा अनन्तकालसम्म पर्खन नसकिने जवाफ दिएका थिए ।
यता माधव नेपाल पक्षका कार्यदल संयोजक समेत रहेका नेता भीम रावलले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । नेता रावल र राष्ट्रपतिबीचको भेटवार्तामा समेत एमाले संकटबारे छलफल भएको बुझिएको छ ।