जाजरकोट । केही दिन अघि वडा अध्यक्षले बाँधेर कुटपिट गरेको भिडियोले सामाजिक संजाल तताएको थियो । यसरी डोरीले बाँधेर कुटपिट गरेका थिए जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले ।
गाउँमै कागज बनाएर मिलापत्र गरेपनि त्यो कुरा बाहिर आएपछि त्यसले उग्रता लिन पुग्यो । त्यसपछि वडा अध्यक्षलाई पक्राउ गर्नुपर्ने माग उठ्यो । चारैतिरबाट दबाब आएपछि आज उनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका वडाध्यक्ष नेपालीलाई सदरमुकामतर्फ ल्याउने काम भइरहेको निमित्त जिल्ला प्रहरी प्रमुख खुमानन्द पाण्डेले बताएका छन् । घटनास्थल सदरमुकामबाट करिब ८० किलोमिटर टाढा भएकाले सदरमुकाम पुग्न केही समय लाग्ने पाण्डेले बताए।
गत साउन १५ गते वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा भ्रष्टाचार गर्न पाइदैन भन्दै जाँड खाएर होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले सोही ठाउँका सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए।
सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोप लगाएपछि वडाध्यक्ष नेपालीले सर्पेलाई बाँधेर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उक्त घटनालाई गाउँमै मिलाउन खोजेको प्रहरीले मिडिया र अधिकारकर्मीको चर्को दबाव थेग्न नसकेपछि बल्ल आज बिहीबार पक्राउ गरेको हो ।
पीडित सर्पे दमाईलाई पनि जाहेरी दिन लगाउने र घटनाबारे बुझ्नन सदरमुकाम बोलाइएको बताईएको छ ।