काठमाडौ । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको वैठक स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग विशेष वार्ता गर्नुपर्ने भएकोले आजको वैठक स्थगित गर्नुपर्ने स्थायी समितिका सदस्यहरुलाई जानकारी गराएको बताईएको छ ।
मन्त्री छान्नका लागि वैठक बस्ने भनिएपनि कुन कुन मन्त्रालय पाउने हो भन्ने विषयमा टुङ्गो नलागेका कारण पहिला त्यस विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्नुपर्ने भएकोले स्थायी समितिको वैठक नै स्थगित गरेको एक स्थायी समिति सदस्यले बताए ।
सत्तागठबन्धनमा रहेका माओवादी केन्द्रबाट पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा पठाउने भनेपनि त्यसलाई प्रधानमन्त्री देउवाले ईन्कार गरेका थिए । यसरी पार्टीको निर्णयलाई नै इन्कार गरेपछि पार्टीभित्र त्यसले नयाँ तरंग उत्पन्न गराएको छ । माओवादी भित्र देउवाले खेल्न थालेको भान अहिले प्रचण्डलाई पर्न गएको छ । यसर्थ प्रचण्डले देउवासँग गंभीर वार्ता गर्नुपर्ने भन्दै आजको वैठक स्थगित गर्न पुगेका हुन ।
सरकार गठनसँगै अहिले सत्तारुड दलभित्रै चिसोपना देखिन थालेको छ । उनीहरुको सम्बन्धमा चिसोपना आउनाले नै अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको छैन ।