व्यवसायी श्रेष्ठको सो ‘पोष्ट’ जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले १५ दिन लामो निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेकै साँझ सार्वजनिक भएको थियो । अन्य व्यवसाय खुल्दा पार्टी प्यालेस, चलचित्र घर, नृत्यशाला र जिमखानालगायतमा लगाइएको निरन्तरको रोकप्रति उनको दुःखेसो छ । महामारीका कारण डेढ वर्षदेखि व्यवसायमा परेको मर्कालाई उनले फेसबुकमार्फत आफ्ना भावनालाई सार्वजानिक गर्नुभएको हो । पीडा र आफ्नो दुःखान्त भोगाइलाई व्यक्त गर्न उनले आक्रोशको सहारा लिएका छैनन् ।
‘हाम्रो पार्टी प्यालेस, सिनेमा हल, जिम हल, डान्स हलहरु पनि मापदण्ड बनाएर चल्न दिनु पर्ने होइन र ? सम्बन्धित निकायले हाम्रो बारेमा पनि केही सोचिदिनु, बुझिदिनु पर्ने हो’, व्यवसायी श्रेष्ठले उल्लेख गरेका छन् । बजार, व्यवसाय चलायमान हुँदा केही क्षेत्रमा भने अहिले पनि प्रतिबन्ध छ । महामारीको जोखिम नटरिसकेको जनाउँदै ती व्यवसायमा बन्देज लगाइराख्ने हो भने आइपर्ने समस्याको समाधानका लागि सम्बन्धित पक्षले जिम्मा लिनुपर्ने उनको माग छ ।
उनले आफूहरु जनस्वास्थ्यका मापदण्ड अपनाएर सुरक्षित तबरले सेवा दिन तयार रहेको बताए । ती व्यवसायमा श्रेष्ठको करोडौं लगानी छ । बागलुङमा मात्र नभएर पोखरामा समेत उनको व्यवसाय विस्तारित छ । कैंयनलाई रोजगारी दिलाउँदै आँटिला र उदाउँदा व्यवसायीको चिनारी बनाएका ३४ वर्षीय श्रेष्ठमाथि महामारीको नमिठो बज्र परेको छ । व्यवसायलाई कसरी टिकाउने भन्ने चुनौती छ । यस्तो पीडा उनी एक्लैमाथि मात्र भने छैन ।
महामारी सुरु भएपछि व्यावसायिक क्षेत्र सबैतिर मारमा छ । गत असरको तह कमी बेंसी चाहिँ छ । अत्यावश्यक सेवाका पसललगायत कतिपय व्यवसाय सधैँ खुल्ने केही भने सधैँ बन्द गर्नुपर्ने स्थितिले व्यवसायी निराश छन् । उनीहरु व्यवसाय सञ्चालनमा भेदभाव गरिएको बताउँछन् । सौन्दर्य व्यवसाय, सैलुन, फुटपाथमा पनि अहिले रोक छ । व्यवसायीको माग र दबाब बढेपछि होटल, रेष्टुराँ व्यवसाय भने खुलेका छन् । सङ्क्रमण स्थिर भएर स्थिति केही सहज बन्दै गएकाले अब विस्तारै सबै व्यवसायलाई चलायमान बनाउनुपर्ने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताए ।
‘पार्टी प्यालेससहित कतिपय व्यवसाय सञ्चालनमा सरकारले नै रोक लगाएकाले जिल्लातहमा निर्णय हुन सक्ने अवस्था छैन’, उनले भने, ‘हाम्रो माग र आवाजलाई केन्द्रसम्मै पुर्याउनु पर्छ, अब बन्द गरेर मात्र हुँदैन ।’ व्यवसाय निर्वाधरुपमा चल्न दिनका लागि सङ्घले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा कुरा उठाउँदै आएको उनको भनाइ छ । व्यवसायी पलायन हुने, श्रमिकले रोजगारी गुमाउने र आर्थिक क्षेत्र नै तहसनहस हुने स्थिति आउने हो कि भन्नेमा उनको चिन्ता छ ।
महिनौंसम्म कारोबार ठप्प हुँदा कतिपय व्यवसाय उठ्नै नसक्ने गरी थलिएका छन् । ऋणको किस्ता, ब्याज र भाडाको भारले कहिलेसम्म व्यवसायीलाई थिच्ने हो कुनै ठेगान छैन । निषेधाज्ञा खुकुलो हुँदा यसो व्यावसायिक क्षेत्रले बौरने लक्षण देखाउने गरेपछि सङ्क्रमण उकालो लाग्दा पुनः प्रतिबन्ध खेप्नु परिरहेको छ ।
निषेधाज्ञाले मात्र पनि महामारी पूरै थामिने सङ्केत छैन । यसको चक्र लामो सयमसम्म चल्ने देखिन्छ । के अब निषेधाज्ञा थपिनै रहने कि, नयाँ विकल्पमा जाने ? भन्ने प्रश्न सतहमा आएको छ । निषेधाज्ञा हुँदा सबैभन्दा बढी गरी खाने वर्ग र व्यवसायी मार पर्छन् । जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गराएर व्यापार, व्यवसायलाई पूर्ववत्र रुपमा खोल्नुपर्नेमा व्यवसायी एकमत छन् ।
यहाँ अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २२३ छ । दुई साताअघि त्यस्ता संख्या बढेर ७०० नाघेको थियो । अहिले यो संख्या क्रमशः घट्न थालेको छ । सङ्क्रमण दर घटेसँगै निषेधाज्ञा खोलिएको छ । कुन दिन फेरि सङ्क्रमण बढ्छ र व्यवसायीले सटर लगाउनुपर्ने हो, जानकारी छैन ।