एक्लै लड्ने आँट नभएपछि सत्तारूढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको जिकिर गरे । आज (शनिबार) नेकपा (एमाले) महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग एक्लै चुनाव लड्न कुनै पनि राजनीतिक दलहरूले नसक्ने कुरा सबैलाई थाहा भएको बताए । चुनावमा एमालेको प्रतिस्पर्धी हुने तर प्रतिस्पर्धा भने नहुने दाबी समेत उनले गरे ।
आगामी निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने कुरा आफूले सुनेको उल्लेख गर्दै उनले भने, ‘म सुन्दै छु– मोर्चाबन्दी गर्छन रे ! एमालेसँग एक्लै लड्न सकिन्न भन्ने कुरा सबैलाई थाहा छ । एमालेसँग एक्लै लड्न कसैले पनि नचिताए हुन्छ । एमालेसँग एक्लै लड्न कोही सक्दैन, सबैलाई थाहा छ । त्यसकारण मिलाउने अरे, मिलेर लड्ने रे ! एक-एक दर्जनको १० वटा पार्टी मिल्यो भने कति हुन्छ ? १० दर्जन जति नै त भयो होला नि, होइन ? एक-एक दर्जन मान्छे भएको १० वटा पार्टी मिल्दा । १० दर्जन भनेको १२० होइन ? १२० जनाको मोर्चा कसेर एमालेसँग लड्ने ? माधव नेपालका नक्कली नाम समेत जोड्दा, दोहोरिएका समेत जोड्दा ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसद त्यतिजना मिलेर एमालेसँग लड्ने ? उहाँहरू कुरामा लड्न सक्नुहुन्छ, काममा होइन । मैदानमा होइन, व्यवहारमा होइन ।’
अध्यक्ष ओलीले माधवकुमार नेपाललगायत केही मान्छे पार्टीबाट चोइटिएर गए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको दोहोर्याए । ‘अब चिन्ता गरेर बस्ने होइन । म कमरेडहरूलाई भन्न चाहन्छु– एक–दुईटा पात खस्दैमा पीर मानेर रुख ढल्दैन’, उनले भने, ‘एक-दुईटा पात पहेंलिएर झर्छन् । रुखले पीर मानेर बस्छ ? अर्को टुसो हालिहाल्छ नि । देख्नु भएन कमिटीहरूको टुसो पलाएको ? महिलाहरू कसरी जाग्दै छन् । युवाहरू कसरी जाग्दै छन् । नयाँ–नयाँ पालुवाहरू पलाउँदै छन् । नयाँ–नयाँ हाँगाहरू हाल्दै छन् । अझै मजबुत् वृक्ष हाँगा फैलिँदै छन् । उचाइतिर जाँदैछ ।’ उनले जनादेशबाट नभई विभिन्न जालझेल गरेर आफूहरूलाई सत्ताबाट हटाइएको पुनः उल्लेख गरे । आगामी निर्वाचनमा त्यसको जवाफ दिने गरी तयारी गर्न पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।
माधव नेपालहरूलाई एक-दुईवटा कपालको संज्ञा दिँदै ओलीले उनीहरू ‘हिँड्दा टाउको मुडुलो नहुने’ बताए । ‘नुहाउँदाखेरी एक–दुईटा कपालको रौं झर्छ, उनले थपे, ‘जति दामी साबुन लगाए पनि, राम्रो, ब्रान्डेड साबुन लगाए पनि, छानेको पानीले नुहाए पनि, जेसुकै गरे पनि एक–दुईटा कपाल झर्छ । एक–दुईटा कपाल झर्दैमा टाउको मुडुलो हुन्छ ?’