काठमाडौ । क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु रिले अनसनमा बसेपछि नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ ।
महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई बिहीबार नामावली बुझाएको कांग्रेस नेता प्रकाश शरण महतले जानकारी दिएका छन् ।
प्रदेश एक, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केहि जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको हो । प्रदेश दुईका कुनै पनि जिल्लाको सदस्यता सार्वजनिक गरिएको छैन ।
क्रियाशील सदस्यता सार्वजनिक गरिएको जिल्लामा प्रदेश १ अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर र झापा रहेका छन् । त्यस्तै बागमती प्रदेशअन्तर्गत दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरको सदस्यता सूची बुझाइएको छ भने गण्डकी प्रदेशमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याञ्जा, म्याग्दी र नवलपुरको सदस्यता सार्वजनिक गरिएको छ ।
लुम्बिनी प्रदेशमा नवलपरासी, रुपन्देही, पाल्पा, रुकुम पूर्वी र रोल्पाको क्रियाशील सदस्यता सावजनिक गरिएको छ भने कर्णाली प्रदेशका रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशमा बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको क्रियाशील सदस्यता सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ ।
‘३८ दुर्गम जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको छ । केही दिनभित्रै विवाद समाधान समितिले बुझाएको प्रतिवेदन अनुसार काम हुन्छ’, नेता महतले भने, ‘सबै जिल्लाबाट प्रतिनिधि जान्छन् । क्रियाशील सदस्यता सूची पनि प्रकाशन हुन्छ ।’ १४ औं महाधिवेशन प्रक्रिया शुरु हुन एक साता मात्रै बाँकी छ ।