यस्तै बैठकले जेठ २ गतेलाई आधार मानेर पार्टीको सदस्यता नविकरण गर्ने भएको छ । यसअघि नविकरण गरिसकेकाले पनि पुनः नविकरण गर्नुपर्ने निर्णय गरेको छ । यस्तै बैठकले पार्टीको विधान महाधिवेशन असोज ४ गतेदेखि ६ गतेसम्म र महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म गने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
त्यसैगरी बैठकले कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ । भदौ १६ देखि २० गतेसम्म अगुवा प्रशिक्षार्थीहरूको समन्वयमा जिल्लामा कार्यकर्ता भेला गरिने भएको ज्ञवालीले जानकारी दिए ।
बैठकले असार २७ गते तयार गरेको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने, पार्टी एकताका लागि सबैलाई आह्वान गर्ने र भदौ १० गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उनको भनाइ छ । माधवकुमार नेपाललाई धोका दिएर बैठकमा सहभागी भएको बैठकको सन्दर्भ र एकताको विषयमा थप जानकारी दिनका लागि बुधबार बिहान ११ बजे एमालेले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
१० बुँदे सहमति कार्यान्वयन गर्न सात सदस्यीय कार्यदल
नेकपा एमाले स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल छोडेका १० स्थायी कमिटी नेताहरुसहित बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील हुने सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल बनाइएको छ ।
कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।
एकता सन्देश दिन सामुहिक तस्बिर
नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । पूर्व माओवादीका नेता र माधवकुमार नेपालका केही नेताहरुको सहभागिता रहेको सो बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
बैठकपछि एकताको सन्देश दिन सामूहिक तस्बिर पनि लिइएको छ । तस्बिरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दायाँ र बायाँ क्रमशः उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावललाई देख्न सकिन्छ । उनीहरू दुवै माधव नेपालबाट अलग भएका हुन् । तस्बिरमा सबै नेताहरू हर्षित मुद्रामा देखिएका छन् । नेता नेपालले हिजोदेखि चन्द्रागिरि रिसोर्टमा छुट्टै भेला गरेको बेला एमालेले उक्त तस्बिर सार्वजनिक गरेको छ ।