काठमाडौ। नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माधव नेपालले पार्टी खोल्ने निर्णय हतारमा लिएको बताउँदै एमाले एकतामै फर्किनु पर्ने बताएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको छलफलपछि सोमबार दिउँसो पत्रकारहरुसँग कुरा गर्दै उनले चैत ४ र ५ गते ललितपुरमा भएको नेपाल पक्षीय एमाले कार्यकर्ताहरूको राष्ट्रिय भेलाको निष्कर्ष विभाजन नभई एकता नै रहेको बताए ।
‘चैत ४ र ५ गतेको राष्ट्रिय भेलाको निष्कर्ष विभाजन होइन एकता गरौं भन्ने थियो’, उनले भने, ‘त्यसैले हामी विभाजनतिर होइन, एकतातिर नै जानुपर्छ भन्ने अडानमा कायमै छौं । कार्यदलका सदस्यहरु र हामी स्थायी कमिटी सदस्य पनि विभाजनमा जाँदा नेपाललाई साथ नदिने पक्षमा अहिले पनि यथावत छौं ।’
माधव नेपाललाई पार्टीभित्रका विमतिमा छलफल गर्न अहिले पनि आफूहरुको साथ रहने बताउँदै उनले भने, ‘नेता नेपाल र हाम्रा मतहरु मिल्छन्, तर पार्टी विभाजन गरेर अलग पार्टी बनाउने कुरामा हामी तपाईंसँग हुन सक्दैनौं भनेर पहिले नै भनेका हौं ।’ उनले आजको आवश्यकता माधव नेपालसहितको एमाले एकता नै रहेको बताए ।
‘आजका दिनमा माधवकुमार नेपालसहितको एकताको कुरा गरिरहँदा उहाँबारे म धेरै बोल्दिनँ’, उनले थपे, ‘उहाँले पार्टी स्थायी कमिटीको यत्रो टिमसँग छलफल नगरी नयाँ पार्टी खोल्ने निर्णय लिनुभयो ।’
काठमाडौंको बुद्धनगरमा बसेको माधव पक्षीय केन्द्रीय कमिटी बैठकको म्यान्डेट विभाजन नभई एकता रहेको पनि भट्टराईले बताएका छन् । ‘यसअघिको केन्द्रीय कमिटीको म्यान्डेट विभाजन होइन एकता थियो । उहाँले हतारमा त्यो म्यान्डेट बाहिर गएर पार्टी दर्ता गर्नु भयो’, उनले सुनाए, ‘अब उहाँले पनि एकतामा फर्किनु पर्छ । कारबाहीहरू स्वतः अमान्य हुन्छन् । कारबाही प्रतिशोध, दण्ड, सजाय स्वतः निष्क्रिय हुन्छन्। अध्यक्ष र हामीबीच यो सहमति भएको छ ।’
उनले मंगलबार बस्ने स्थायी कमिटी बैठकबाट नेता नेपालसहितलाई पार्टी एकताका लागि आह्वान गर्ने पनि बताए । ‘कमरेड माधव नेपाललाई समेत भोलि एकतावद्ध हुन अपिल गर्छौ’, उनले भने, ‘हामीले औपचारिक रुपमा अपिल गरेका छौं । नयाँ पार्टी गठन प्रक्रियाबाट उहाँ अलग हुनुपर्छ । उहाँहरु त्यसबाट अलग भएमा १४ जना सांसदमाथिका कारबाही फिर्ता हुन्छन् ।’