काठमाडौ। सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज बुझाउँदैछ । समितिले आज अपरान्ह ५ बजे प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
यसका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग समय माग गरिएको समिति सदस्य रमेश लेखकले जानकारी गराए । ‘आज त बुझाउनै भनेका छौं’, लेखकले भने, ‘हिजो केही विषयमा मिलेको थिएन, अहिले लगभग सहमति बनेको छ ।’
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिले अपरान्ह ५ बजेसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ । ‘हिजो जनै पूर्णिमा पर्व पनि पर्यो, केही विषयमा विवाद पनि थियो’, उनले भने, ‘आज साँझ ५ बजेपछि प्रतिवेदन बुझाउने कुरा छ ।’
गएको साउन ३० गते पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । डा। मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो । तर, समितिले भदौ पहिलो साता पुग्दा समेत प्रतिवेदन बुझाउन सकेको छैन । कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।