लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । स१०प ४२४७ नंको मोटरसाइकलले ठक्कर दिँदा तत्काल सनाखत हुन नसकेको अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेका ती किशोरलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
रोल्पा । रोल्पामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मुत्यु हुनेमा रोल्पा नगरपालिका–२ धनमुढा निवासीे ५५ वर्षीय खड्कबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
सुनिलस्मृति गाउँपालिका–१ सेरास्थित रा६प ८८६६ नंको मोटरसाइकल दुर्घटना भएको प्रहरी प्रमुख सुवेदीले बताउनुभयो । रोल्पाको सदरमुकाम लिबाङबाट प्यूठान जाँदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । मोटरसाइकल चालक गङ्गाराम डाँगी घाइते भएको प्रहरी बताएको छ । घाइते चालकलाई थप उपचारका लागि जिल्लाबाहिर पठाइएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।