काठमाडौ । वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाएर नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएपछि एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले आजको दिन नेपालको कम्युनिष्ट आन्दोलनकै कालो दिनको संज्ञा दिएका छन् ।
एमालेबाट विभाजित नेपाल समूहले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि बुधबार अपराह्न निर्वाचन आयोगमा निवेदन दिएको हो । निवेदनमा नेता नेपालको अध्यक्षतामा ९५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाइने उल्लेख छ ।
त्यस लगत्तै नेता रिजालले सामाजिक सञ्जालमार्फत आजको दिनलाई नेपालको कम्युनिष्ट आन्दोलनकै लागि कालो दिन भएको टिप्पणी गरेका हुन् । ‘कालो दिन १ कालो दिन ११ कालो दिन १११,’ उनले लेखेका छन्, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा ।’