काठमाडौ । नेपाली काँग्रेसका संस्थापन पक्ष र इत्तर पक्षका युवा नेताहरुले सोमबार बत्तीसपुतलीमा सामुहिक बैठक गरे । बैठकमा उनीहरुले आ–आफ्नो राजनीतिक भविश्य र पार्टीको अवस्थाबारे चिन्ता प्रकट गरे । शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्रो काम गरेन भने युवा नेताहरुको भविश्य बर्बाद हुने निश्कर्षसमेत उनीहरुले निकाले ।
१४ औं महाधिवेशनको नयाँ कार्यतालिका आएसँगै दुबै गुटका युवा नेताहरु एकै ठाउँमा जुटेर बैठक गर्नुलाई काँग्रेसभित्र अर्थपूर्णरुपमा हेरिएको छ । योबीचमा महाधिवेशनका सन्दर्भमा गुटगत भेला गर्दै आएका युवा नेताहरु सोमबार भने सामुहिक छलफलमा जुटेका हुन् ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याडमा आयोजित छलफलको संयोजन देउवा पक्षीय नेता एनपी साउद र पौडेल पक्षीय नेता चन्द्र भण्डारीले गरेका थिए ।
छलफलमा संस्थापन पक्षबाट एनपी साउद, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, विश्वप्रकाश शर्मा, श्याम घिमिरे र सीता गुरुङलगायत नेता सहभागी थिए ।
यस्तै संस्थापन इत्तर पक्षबाट गगन थापा, गुरुराज घिमिरे, दीपक गिरी, धनराज गुरुङ, रामकृष्ण यादव, प्रदीप पौडेल, बद्री पाण्डे, कल्याण गुरुङ, कमला पन्त, रत्ना शेरचन, किरण यादव, सरिता प्रसाईंलगायतको उपस्थिति थियो ।
छलफलपछि एनपी साउदले रातोपाटीसँग भने, ‘अब महाधिवेशनका लागि गाउँघर जानुपर्ने भयो । गाउँघर जानुअघि साथीहरु बसौं भनेर छलफल गरेका हौं ।’
उनका अनुसार नयाँ कार्यतालिका अनुसार पार्टीको १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने सन्दर्भमा छलफल केन्द्रित थियो । छलफलमा पार्टीको क्रियाशील सदस्यताको विवाद सर्वसम्मत रुपमा कसरी समाधान गर्ने भन्ने विषयमा पनि छलफल भएको साउदले बताए ।
शनिबार सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भदौ १८ गते वडा अधिवेशन सुरु गरेर आगामी मंसिर ९–१३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले भदौ १६–१९ को कार्यतालिका संशोधन गर्दै मंसिर ९–१३ मा पुर्याएको छ । तर, केही जिल्लामा नयाँ क्रियाशील सदस्यता र समायोजनसम्बन्धी विवाद अझै टुंगिएको छैन ।
भदौ तीन गतेभित्र विवादित क्रियाशील सदस्यताका सन्दर्भमा सहमति जुटाएर सभापतिलाई बुझाउन नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिइएको छ । उनीहरुले आइतबारबाटै सहमति जुटाउने प्रयास थालेको बुझिएको छ ।
युवा नेताको चासो स् नेतृत्व, नीति र मुद्दामाथि छलफल
सोमबारको छलफलमा सहभागी युवा नेताहरुले क्रियाशील सदस्यताको विवादले महाधिवेशनको नयाँ कार्यतालिका पनि प्रभावित हुने अवस्था आउन नदिन सजग हुनुपर्ने धारणा राखेका छन् ।
यस्तै १४ औं महाधिवेशनमा काँग्रेसलाई नीति, मुद्दा र कार्यक्रमबाट उर्भर बनाउनका लागि युवाको हस्तक्षेप हुनुपर्ने बैठकमा धारणा आएको छ । साउदले भने, ‘आगामी महाधिवेशनमा युवाहरुले आफ्नो आवाजलाई सशक्त किसिमले कसरी प्रस्तुत गर्न सकिन्छ, आगामी महाधिवेशन मुद्दा र नीति केन्द्रित रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारेमा पनि छलफल भयो ।’
साउदका अनुसार १४ औं महाधिवेशनमा युवाहरुको उपस्थितिलाई कसरी व्यापक बनाउन सकिन्छ भन्नेबारे पनि छलफल भएको छ । युवाको उपस्थिति व्यापक बनाउन युवा नेताहरुले सामुहिक प्रयास गर्नुपर्नेमा नेताहरुको जोड थियो ।
बैठकमा नीति र मुद्दाबारे छलफल भए पनि व्यक्ति केन्द्रित कुराकानी भने नभएको साउदले बताए । उनले भने, ‘व्यक्ति केन्द्रीय कुरा केही भएन । नीति केन्द्रित कुराकानी भएको छ ।’
यस्तै नेता धनराज गुरुङले एकताका सात महाधिवेशन सम्पन्न गर्ने सन्देश दिन युवा नेताहरु छलफलमा जुटेको बताए ।
‘केन्द्रीय कमिटी बैठकले सर्वसम्म नयाँ कार्यतालिका ल्याएको छ । त्यसको कार्यान्वयन पनि सबैको साथ सहयोग पनि सम्भव छैन । हामी युवा नेताहरुले एकताको सन्देश दिन छलफल गरेका हौं,’ उनी भन्छन् ।
साथै युवा नेताहरु नीतिभन्दा गुटमा रमाउनु गलत भएको भन्दै १४ औं महाधिवेशनमा फरक ढंगले प्रस्तुत हुनेबारे छलफल गरेको बताए ।
उनले भने, ‘हामीले अहिलेसम्म नीतिगत कुरा भन्दा गुटमा रमायौं । यो गलत भयो । आगामी महाधिवेशनमा फरक ढंगले प्रस्तुत हुन सक्नुपर्छ । त्यो आजको आवश्यकता भइसकेको छ ।’
त्यसमा छलफल गरौं भन्ने हो ।’ आजको छलफलमा नेतृत्वबारे छलफल नभएको गुरुङले पनि बताए ।
कम्युनिस्ट फुटबाट पाठ सिक्ने
नेता चन्द्र भण्डारी वर्तमान राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिबारे युवा नेताबीच छलफल भएको बताए । उनले रातोपाटीसँग भने, ‘पार्टी पार्टीबीचको सम्बन्ध राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा कसरी जोडेर लैजाने रु अहिले अफगानिस्तानमा भएको घटनाले विश्व राजनीतिमा के प्रभाव पर्छ रु नेपाललाई कसरी सुरक्षित गरेर कसरी लैजाने भन्ने विषयमा छलफल भएको छ ।’
पार्टी र देश बनाउने अवसर युवाहरुले गुमाउन नहुनेमा सबै नेताहरुको जोड रहेको भण्डारीको भनाइ छ । ‘तत्कालीन नेकपा र अहिले एमालेमा उत्पन्न संकट भोलि काँग्रेसमा पनि आउन सक्छ,’ उनले भने, ‘हामी कम्युनिस्ट पार्टीको नेतृत्वबाट सबैभन्दा बढी डराएका छौं । बुढा नेताहरु रिसाएर झगडा गरेपछि पार्टी नै दुई फ्याक हुँदोरहेछ । युवा नेताहरुको भूमिका केही काम लाग्दो रहेनछ ।’
दुई नेताको लडाइबाट कम्युनिस्ट पार्टीमा आएको फुटबाट काँग्रेस नेताहरुले सिक्नुपर्ने भण्डारीको भनाइ छ । उनले भने, ‘कम्युनिस्ट पार्टीका युवा साथीहरुले बेलैमा केपी ओली र प्रचण्डलाई नियन्त्रण गर्न सकेको भए अहिलेको अवस्था आउने थिए । हामीले त्यसबाट पाठ सिक्नुपर्छ । हामी पार्टीभित्र कसैको गोटी बन्नुभन्दा पार्टीलाई मध्यमार्गी धारबाट मिलाएर लैजानुपर्छ ।’
यस विषयमा आफूहरुल खुलस्त छलफल गरेको भण्डारीले बताए ।
सरकारलाई सजग गराउँदै सहयोग गर्ने
छलफलमा काँग्रेस नेतृत्वको सरकारलाई प्रभावकारी बनाउने विषयमा पनि नेताहरुले धारणा राखिरहेका थिए । बैठकमा सहभागी धनराज गुरुङले भने, ‘यो सरकारले राम्रो काम गरेन भने हामी बर्बाद हुन्छौं । हामी सरकारलाई सही सुझाव र दबाव दिइराख्नुपर्छ । सजग गराउनुपर्छ ।’
असार २९ गते काँग्रेस सभापति देउवाले सरकारको नेतृत्व सम्हालिराखेका छन् । प्रधानमन्त्री देउवालाई जनपक्षीय निर्णयका लागि आफूहरुले साथ सहयोग दिनुपर्ने युवा नेताहरुको भनाइ छ ।
सोमबारको बैठक मंगलबार पुनः बस्ने गरी सकिएको छ । भोलि दिउँसो २ बजे फेरि बैठक बस्ने साउदले बताए । रातोपाटीबाट