युद्ध सकिएको जानकारी दिदै तालिबानले भन्यो – शासन व्यवस्थाबारे चाँडै जानकारी दिन्छौं

काबुल, ३२ साउन । विद्रोही तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका हुन् । अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनको भित्र देखिन्छ । अर्को एउटा फोटोमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सीमा बसेको देखिन्छ ।

तालिबानका एक प्रवक्ताले अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हाम्रो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता हामीले प्राप्त गरेका छौं ।’ विद्रोहमार्फत २० वर्षपछि पुनः सत्तामा पुगेको तालिबानले आज ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

हतियारकै बलमा अफगानिस्तान कब्जा गरेको विद्रोही संगठन तालिबानले अब युद्ध अन्त्य भएको र देशको शासन व्यवस्था कस्तो हुने भन्ने विषयमा चाँडै जानकारी दिने बताएको छ । बीबीसीका अनुसार तालिबान संगठनका प्रवक्ताले समाचार च्यानल अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध समाप्त भयो । अब अफगानिस्तानमा कस्तो किसिमको शासन व्यवस्था हुन्छ, यसबारे चाँडै स्पष्ट पार्नेछौं ।’
समाचार एजेन्सी रोयटर्सका अनुसार अलजजिरालाई दिएको अन्वर्तार्तामा तालिबानका प्रवक्ता मोहम्मद नइमले आफूहरू अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहने र कुनै पनि मुद्दामा छलफल गर्न तयार रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘सरिया कानुनअनुसार महिला र अल्पसंख्यकको अधिकार र स्वतन्त्रताको हामी सम्मान गर्छाैं ।’ प्रवक्ता मोहम्मद नइनमले आफ्नो संगठन तालिबानले कुनै मामिलामा हस्तक्षेपको नीति नलिने उल्लेख गर्दै अफगानिस्तान मामिलामा पनि कसैलाई हस्तक्षेप नगर्न चेतावनी पनि दिएका छन् ।

उनले अगाडि भनेका छन्, ‘२० वर्षको प्रतीक्षापछि हामी जुन स्थानमा पुग्न चाहन्थ्यौं, त्यहीं पुगेका छौं । हामी देश र जनताको स्वतन्त्रता चाहन्छौं । हामी न हाम्रो भूमि कसैको प्रयोगशाला हुन दिन्छौं न न हामी नै कसैलाई हानी गर्न चाहन्छौं ।’

तालिबान समूह आइतबार राजधानी काबुल प्रवेश गरे लगत्तै राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उपराष्ट्रपतिले पनि देश छाडेको हल्ला चले पनि उनले आफूले काबुल मात्र छाडेको र अफगानिस्तानमै रहेको बताएका छन् ।

राष्ट्रपति गानी ५० लाख डलर लिएर भाग्न खोजेको आरोप
तालिवानले अफगानिस्तानको राजधानीलाई कब्जामा लिन सफल भएको छ । आइतबार तीन महत्वपूर्ण घटनाक्रमहरू भए । पहिलो – राष्ट्रपति अशरफ गानी र उपराष्ट्रपति अमीरुल्लाह सालेह आफ्ना निकटस्तहरुसँग देश छाडेर भागे । दोस्रो – तालिबानले राष्ट्रपति भवन (अर्ग) माथि कब्जा जमायो । तेस्रो – तालिबान नेता मुल्ला बरदारको बयान आयो ।

उनले भने, ‘सबै जनताको धनमालको सुरक्षा गरिने छ । आगामी केही दिनमा सबै नियन्त्रणमा लिइने । हामीले सोचेकै थिएनौं कि यति सजिलै र यति चाँडै जीत हासिल हुनेछ । आगामी केही दिनमा सबै सामान्य हुनेछ ।’

तालिवानका नेताहरू राष्ट्रपति भवनमा बसेर विभिन्न च्यानलहरूलाई अन्तरवार्ता दिइरहेका छन् । उनीहरूको दाबी छ कि राष्ट्रपति गानी देश छाडेर जाँदा ५० लाख डलर साथमा लिएर जाने प्रयासमा थिए । तर, उक्त रकम राष्ट्रपति भवनको हेलिप्याडमा नै छाडियो ।
केही मिडिया रिपोर्टमा राति काबुलमा केही विस्फोटको आवाजहरू पनि सुनिएका थिए । तर, तालिबान स्रोतहरूले यसबारे पुष्टि गरेको छैन । काबुल विमानस्थलबाट व्यावसायिक उडानमा रोक लगाइएको छ ।

यसबीच देशमा शान्ति बहाली गर्न एक समन्वय परिषद् बनाइएको छ । पूर्व राष्ट्रपति हामिद कारजईले यसको अगुवाइ गर्नेछन् । यसमा अब्दुल्ला अब्दुल्ला र जिहादी नेता गुलबुद्दीन हिकमतयार पनि रहने छन् । समाचार एजेन्सीका अनुसार तालिवानले चाँडै राष्ट्रपति भवनबाट इस्लामिक इमिरेट्स अफ अफगानिस्तान घोषणा गर्ने तयारी गरेको छ ।

काबुलमा तीव्र गतिमा बदलिँदै परिस्थितिबीच अमेरिकाले स्केयूरिटी अलर्ट जारी गरेको छ । जसमा काबुल विमानस्थलमा सुरक्षाको अवस्था तीव्ररुपमा बदलिरहेको छ । केही मिडिया रिपोर्टमा विमानस्थलमा आगलागी भएको खबर समेत आएको थियो । काबुलस्थित अमेरिकी दूतावास खाली भएको छ । अमेरिकी राजदूत अफगानिस्तान छाडेर भागिसकेका छन् । काबुल विमानस्थलमा कर्मचारीहरू भागेपछि कयौं विमान बिना सबै यात्रु नै उडेको थियो । अहिले काबुलमा कुनै पनि यात्रुवाहक विमानहरू छैनन् । मात्र अमेरिकी सैन्य विमान रहेका छन् ।

adb bank long