काठमाडौ। हैटीमा गएको शक्तिशाली भूकम्पमा ३ सयजनाभन्दा धेरैको मृत्यु भएको छ । अहिलेसम्म ३ सय ४ जनाको मृत्यु भएको आधिकारिक पुष्टी भइसकेको छ भने सरकारले संकटकालिन अवस्थाको घोषणा समेत गरेको छ .७ दशमलव २ म्याग्निच्युटको भूकम्पबाट १८ सय भन्दा धेरै घाइते भएका छन् । दक्षिण शहर जेरोमीका अस्पतालहरु घाइतेहरुले भरिएका छन् भने घाइतेहरु अस्पतालमा ल्याउने क्रम जारी रहेको छ ।
भूकम्पबाट घरहरु, बाटो र भौतिक संरचनामा उल्लेख्य क्षति पुगेको छ । सामाजिक सञ्जालमा प्रकाशित गरिएका भिडियोहरुमा एकदम धेरै क्षति भएका विवरणहरु आएका छन् । कैयन भवनहरु भग्नावशेषमा परिणत भएका छन् भने हावामा धुलो भरिएको भिडियोहरु आएका छन् ।
सन् २०१० मा हैटीमा गएको ७ म्याग्निच्युटको भूकम्पमा २ लाख २० हजारदेखि ३ लाखसम्म व्यक्तिको ज्यान गएको थियो । अहिले पनि मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । भूकम्पपछि ५ म्याग्निच्युटभन्दा ठूला पराकम्पहरु पनि गइरहेका छन् ।