कांग्रेसको १४ औं महाधिवेशन तोकिएको समयमा नहुने निश्चित

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ महाधिवेशन तोकिएको समयमा हुने छाँटकाँट देखिदैन । छ महिना अघि नै घोषणा गरिएको कार्यतालिकाअनुसार तल्ला तहमा महाधिवेशन भइसक्नुपर्ने हो । तर, यसबीचमा पटक-पटक कार्यतालिका फेरबदल भयो । तैपनि महाधिवेशन सुरु हुनु त टाढाको कुरा, कांग्रेसले आफ्नो सदस्यताको सूचीसमेत टुंगो लगाउन सकेको छैन ।

केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले क्रियाशील सदस्यता सम्बन्धी प्रतिवेदन मंगलबारै सभापति शेरबहादुर देउवालाई बुझायो । पार्टीका सबै गुटका प्रतिनिधि सम्मिलित प्रतिवेदन पढेपछि बुधबार बसेको बैठकमा नेताहरुलाई लाग्यो, त्यो प्रतिवेदनमाथि अझै छलफल र सहमति जुटाउन आवश्यक छ । त्यसैले विहीबार दिउँसो २ बजेसम्मको समय दिएर प्रतिवेदनमा पुनः संशोधन गर्नुपर्ने विषयहरु समेटेर ल्याउन समितिलाई जिम्मा दिइएको छ ।

कांग्रेसले भदौको १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी १२ साउनदेखि तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । तर, क्रियाशील सदस्यताको टुंगो नलाग्दा वडा तहको अधिवेशन रोकिसकेको छ ।

यसरी वडा तहको अधिवेशन नै रोकेपछि अहिले पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन समेत प्रभावित भएको छ । यसले पनि कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुने अवस्था देखिदैन । पार्टी सभापति देउवा जसरी पनि तोकिएकै समयमा महाधिवेशन गर्ने पक्षमा देखिएका छन् । तर अहिलेको अवस्था हेर्दा संभव नदेखिएको एक नेताले बताए ।

 

 

adb bank long