पर्यटन चिनाउँदै सामाजिक सञ्जाल

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनस्थित थुम्काइलो डाँडो । देशकै प्रमुख पृथ्वीराजमार्ग नजिकैको डाँडोमा चिलाउनेको रूखमाथि एउटा काठको घर बनाइएको छ । रूखलाई भित्रपट्टि पारेर काठले बनाइएको घर छ, दुई तलाको । छानोसमेत काठैले छाएको यो घरको नाम ‘ट्री हाउस’ राखिएको छ ।

सामाजिक सञ्जाल फेसबुक र टिकटकमा ‘ट्री हाउस’ यतिबेला भाइरल बनेको छ । फेसबुक र टिकटकमा देखेपछि म्याग्दे–३ जामुने निवासी इन्दु श्रेष्ठको मन पनि लोभियो । जसले पनि ‘ट्री हाउस’ पुगेको फोटो र भिडियो अपलोड गर्दा कहिले पुगूँ भएको थियो उहाँलाई । तस्बिर खिचाउनैका लागि भए पनि साथीसँग घुम्ने चाहना भएको उहाँले बताउनुभयो । “अरूको देख्दा आफूलाई पनि यहाँ फोटो खिच्ने धोको थियो त्यै भएर साथी मिलेर आयौँ”, उहाँले भन्नुभयो ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँमा रूखमा बनाइएको घर नौलो गन्तव्य भएकाले धेरैको मन जितेको उहाँको बुझाइ छ । साथीभाइ र परिवारसँग ‘रिफ्रेस’ हुनलाई यो गन्तव्य उपयुक्त हुने उहाँले बताउनुभयो ।

इन्दु जस्तै सामाजिक सञ्जालमा देखेकै भरमा यहाँ घुम्न आउने आन्तरिक पर्यटक दैनिक बढिरहेका छन् । निर्माण सम्पन्न नहँुदै दैनिक दुई सयभन्दा बढी पर्यटक ‘ट्री हाउस’ घुम्न आउने गरेको ज्यानटाङ सामुदायिक वनका अध्यक्ष ईश्वरबहादुर रानाभाटले जानकारी दिनुभयो । “रूखमा बनेको घर सम्पन्न भएको छैन । उद्घाटन पनि नहँुदै घुम्न आउने पर्यटक बढेका छन्”, उहाँले भन्नुभयो, “यति चाँडो यसरी पर्यटक बढ्लान् भन्ने अपेक्षा नगरिए पनि सामाजिक सञ्जालले ‘ट्री हाउस’ लाई पर्यटकीय गन्तव्य बनाउन सघाएको छ ।”

‘ट्री हाउस’ले जस्तै चर्चा बटुलेको छ म्याग्दे गाउँपालिका–५ थाङ्दीमा रहेको थाङ्दी झरनाले पनि । सुनसान खोँचमा रहेको झरनाको सुन्दरता नियाँल्न पुग्नेको यतिबेला दैनिक भीड छ । तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नेको तँछाडमछाड नै देखिन्छ ।

निषेधाज्ञाको समेत वास्ता नगरी आन्तरिक पर्यटक झरनामा पुगिरहेका छन् । कान्छी बाराही मन्दिरसँगै रहेको झरना आन्तरिक पर्यटकीय गन्तव्य बनेको छ । झरनाको दृश्य नियाँल्न र चिसो पानीमा डुबुल्की मार्न आउने आन्तरिक पर्यटकको ओइरो छ ।

तीन वर्षदेखि चर्चामा आएको झरनामा यो वर्ष झनै पर्यटक वृद्धि भएको छ । पर्यटक बढ्नुको श्रेय सामाजिक सञ्जाललाई दिनुहुन्छ स्थानीयवासी अमृता भट्टराई । झरना पहिलेदेखि नै थियो तर गुमनाम थियो । पछिल्लो तीन वर्षमा सामाजिक सञ्जालकै भाषामा भन्ने हो भने भाइरल भयो । भट्टराई भन्नुहुन्छ, “टिकटक, फेसबुकले त भाइरल नै बनायो । जो आउँछन् टिकटकमा भिडियो बनाएर हाल्छन् । फेसबुकमा फोटो राख्छन् । झरना राम्रो छ । टिकटक, फेसबुकमा हेर्ने जो कोहीलाई पनि लोभ्याउँछ र उनीहरु पनि घुम्न आउने क्रम बढ्दो छ ।”

शनिबार झरनामा आउने पर्यटकको भीडभाड अन्य दिनको तुलनामा बढी हुने उहाँले जानकारी दिनुभयो । “झरनामा आउने युवायुवती धेरै हुन्छन् । झरना आउनु धेरैको उद्देश्य हुन्छ फोटो र भिडियो सामाजिक सञ्जालमा हाल्ने”, उहाँले भन्नुभयो ।

पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ता ह्वात्तै बढेका छन् । मानवजीवनको आधारभूत आवश्यकता जस्तै बनेको छ इन्टरनेट र सामाजिक सञ्जाल यतिबेला । बालकदेखि ज्येष्ठ नागरिकसम्म भेटिन्छन् सञ्जालमा । जीवनको अपरिहार्य आवश्यकता जस्तै बनेको सामाजिक सञ्जालको नकारात्मक पक्ष बढी चर्चा हुन्छ तर सकारात्मक पक्ष पनि उत्तिकै छन् ।

समाजमा लुकेका प्रतिभादेखि पर्यटकीय गन्तव्यलाई चर्चित बनाएर फेरबदल गर्नसक्ने क्षमता देखाएको छ सामाजिक सञ्जालले । सामाजिक सञ्जालकै कारण गुमनाम जस्तै तनहुँको मानुङकोट गत वर्षदेखि चर्चित पर्यटकीय गन्तव्यमा दर्ज भएको छ । टिकटक, फेसबुक, युट्युब र इन्स्टाग्रामले गत वर्षको दशैँपछि व्यास नगरपालिका–५ मा रहेको मानुङकोटलाई निकै चर्चित बनाइदियो । रासस

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long